मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलेनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर एक १४ वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब १:१५ बजे साथीहरूसँग पौडी खेल्ने क्रममा हेटौंडा उपमहानगरपालिका–१७ निवासी केशब राईका अन्दाजी १४ वर्षीय छोरा युकेश राई डुबेर बेपत्ता भएका थिए।
प्रहरी, स्थानीयवासी, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले खोजी गर्दा युकेश डुबेको स्थानमै फेला परेका थिए। उनलाई दिउँसो २ बजे उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय मकवानपुर, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म र सशस्त्र प्रहरीको समन्वयमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।
यसैबीच, प्रहरीले वर्षायाममा खोलानाला, पानी जमेको खाल्डो तथा डुबान हुन सक्ने स्थानमा पौडी नखेल्न, बालबालिकालाई त्यस्ता जोखिमयुक्त क्षेत्रमा जान नदिन तथा बाढी आएको बेला खोला–खोल्सी र जलमग्न सडक जबर्जस्ती पार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।