सन् १९९८ र २०१८ को फिफा विश्वकप विजेता फ्रान्सले २०२६ विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो।
बोस्टनमा बिहीबार राति भएको खेलमा फ्रान्सले दोस्रो हाफको छ मिनेटभित्र दुई गोल गर्दै सहज जित निकालेको थियो। कप्तान किलियन एम्बाप्पेले पहिलो गोल गरे भने त्यसको केही समयपछि बालोन डी'ओर विजेता उस्मान डेम्बेलेले दोस्रो गोल थपे।
एम्बाप्पेले पहिलो हाफमा पेनाल्टी अवसर गुमाए पनि दोस्रो हाफमा गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या आठ पुर्याएका छन्। उनी अर्जेन्टिनाका लियोनेल मेस्सीसँग संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका छन्। यद्यपि बढी असिस्टका आधारमा एम्बाप्पे हाल गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्।
डेम्बेलेको यो प्रतियोगितामा पाँचौं गोल हो। एउटै विश्वकपमा पाँच वा सोभन्दा बढी गोल गर्ने दुई खेलाडी भएको टोलीका रूपमा फ्रान्स पछिल्लो ५० वर्षमा ब्राजिल (२००२) पछि दोस्रो राष्ट्र बनेको छ। २००२ मा ब्राजिलका रोनाल्डोले आठ तथा रिभाल्डोले पाँच गोल गरेका थिए।
हालसम्म फ्रान्सले प्रतियोगितामा १६ गोल गरिसकेको छ, जुन कुनै पनि टोलीभन्दा बढी हो। त्यस्तै, छ खेलमा केवल दुई गोल मात्र बेहोरेको फ्रान्सको रक्षापंक्ति पनि बलियो देखिएको छ।
फ्रान्सका पूर्वमिडफिल्डर प्याट्रिक भिएराले वर्तमान टोलीलाई फ्रान्सको इतिहासकै उत्कृष्ट टोलीमध्ये एक भएको बताएका छन्। उनले टोलीमा रहेका आक्रमणकारी खेलाडीहरूको गुणस्तर असाधारण रहेको उल्लेख गर्दै प्रशिक्षक डिडिएर डेसाँको नेतृत्वमा फ्रान्स लगातार तेस्रो विश्वकप फाइनल पुग्ने विश्वास व्यक्त गरे।
डेसाँले सन् २०१२ देखि फ्रान्सको जिम्मेवारी सम्हालिरहेका छन्। उनले २०१८ मा विश्वकप जिताएका थिए भने २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पराजित भएका थिए। यसअघि फ्रान्स २०१६ को युरोपियन च्याम्पियनसिपको फाइनलमा पोर्चुगलसँग तथा युरो २०२४ को सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो। डेसाँले २०२६ विश्वकप आफ्नो अन्तिम प्रतियोगिता हुने घोषणा गरिसकेका छन्।
अब स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग फ्रान्सले सेमिफाइनल खेल्नेछ। स्पेनले क्वार्टरफाइनल पार गरेमा सेमिफाइनलमा फ्रान्ससँग उसको भेट हुनेछ।
प्रतियोगिता सुरु हुनुअघि विश्व वरीयतामा फ्रान्स तेस्रो स्थानमा थियो। अर्जेन्टिना शीर्षस्थानमा र युरोपियन च्याम्पियन स्पेन दोस्रो स्थानमा रहेका थिए।
पूर्वस्कटल्यान्ड फरवार्ड प्याट नेभिनले फ्रान्सलाई प्रतियोगिताकै सबैभन्दा सशक्त आक्रमण गर्ने टोलीको संज्ञा दिएका छन्। पूर्वइङ्ग्ल्यान्ड स्ट्राइकर इयान राइटले पनि फ्रान्सलाई आफूले देखेको विश्वकप इतिहासकै स्पष्ट उपाधि दाबेदारमध्ये एक बताएका छन्।
फ्रान्ससँग एम्बाप्पे र डेम्बेलेबाहेक माइकल ओलिसे, ब्राड्ली बारकोला, डिजिरे डुए, रायान चेर्की र जाँ–फिलिप माटेटाजस्ता आक्रमणकारी खेलाडी पनि छन्, जसले टोलीलाई थप बलियो बनाएका छन्।
पूर्वम्यानचेस्टर युनाइटेड कप्तान रोय किनले फ्रान्सलाई हराउन विपक्षी टोलीले सुरुआती गोल गर्नुपर्ने बताए। उनका अनुसार फ्रान्सले अग्रता लिएपछि प्रतिद्वन्द्वीलाई खुला खेल खेल्न बाध्य पार्छ र त्यसको फाइदा उठाउँदै थप गोल गर्न सक्षम छ।
हालसम्म सेनेगल, इराक, नर्वे, स्विडेन, पाराग्वे र मोरक्कोलाई पराजित गर्दै अपराजित रहेको फ्रान्स अब विश्वकपको तेस्रो उपाधिबाट केवल दुई जित टाढा छ। तर विश्लेषकहरूले भने फ्रान्सले आत्मसन्तुष्ट नभई आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।