पत्रकार जियालाल साहविरुद्ध दायर भएका चार ओटा मुद्दामा पर्सा जिल्ला अदालतले अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ । वीरगञ्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहलगायतको जाहेरीमा चलाइएका मुद्दामा अदालतले सफाइ दिएको हो ।
पर्सा जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको इजलासले पत्रकार साहविरुद्ध दायर गरिएका लिखित बेइज्जती, विद्युतीय कारोबारसम्बन्धी कसुर, वैयक्तिक प्रतिष्ठा तथा बेइज्जतीसम्बन्धी कसुर र अदालतको अवहेलनासम्बन्धी कसुरका सबै मुद्दामा अभियोजन पक्षको दाबी प्रमाणित हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको हो ।
पत्रकार साहले वीरगञ्जबाट सञ्चालन गरेको वीरगञ्ज सिटी डटकममा प्रकाशित झण्डा फेर्नमा अनियमितता मेयर सिंह सहित तीनजना विरुद्ध अख्तियारमा उजुरी, मेयरलाई कमिशन नदिएकाले एकवर्षदेखि भेडहा खोला तटबन्ध अलपत्र, डुबान क्षेत्रको स्थलगत अवलोकन जनता झुक्याउने अस्त्र, छोरो काम गर्ने बैंकमा ६ दिनभित्र खाता खोल्न उर्दि जारी लगायत समाचारविरुद्ध मुद्दा परेका थिए । २०८१ असोज ६ गतेदेखि विभिन्न मितिमा मुद्दा दर्ता भएका थिए । सबै मुद्दामा अदालतले अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो ।
पत्रकार जियालाल साहको पक्षबाट अधिवक्ताहरू अजय श्रीवास्तव, चन्द्रिका पटेल, अभिनव गुप्ता तथा नेपाल पत्रकार महासंघको समन्वयमा नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीलगायतका कानून व्यवसायीले बहस गरेका थिए ।
पत्रकार साहले २०८० पुस २४ गते वीरगञ्ज महानगरपालिकाका तत्कालीन नगरप्रमुख राजेशमान सिंहले अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर किर्ते जन्मदर्ताको आधारमा नेपाली नागरिकता बनाइदिएको विषयमा समाचार सार्वजनिक गरेका थिए ।
सो विषयको अनुसन्धान गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि सिंह निलम्बनमा छन् ।