फिफा विश्वकप २०२६ को नकआउट चरण सुरु भएसँगै फुटबलका केही महान् खेलाडीका लागि यो विश्वकप अन्तिम हुन सक्ने चर्चा चुलिएको छ। उमेर, अन्तर्राष्ट्रिय करिअरको लामो यात्रा र आगामी विश्वकपसम्मको सम्भावनालाई आधार मान्दै विश्व फुटबलका १० चर्चित खेलाडीको यो अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको हो।
सूचीको शीर्ष स्थानमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी रहेका छन्। ३९ वर्षीय मेस्सी आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। सन् २०२२ मा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका उनले यस संस्करणमा पनि लगातार कीर्तिमान बनाइरहेका छन्। विश्वकप इतिहासमा सर्वाधिक १९ गोल गर्ने खेलाडी बनेका मेस्सीले सात खेल लगातार गोल गर्ने दुर्लभ उपलब्धिसमेत हासिल गरेका छन्।
दोस्रो स्थानमा क्रोएसियाका कप्तान लुका मोड्रिच छन्। ४० वर्षीय मिडफिल्डरले पाँचौं विश्वकप खेल्दै शनिबार विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरमा असिस्ट गर्ने खेलाडीको कीर्तिमान बनाए। मोड्रिचको नेतृत्वमा क्रोएसिया सन् २०१८ मा उपविजेता र २०२२ मा तेस्रो बनेको थियो।
तेस्रो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन्। ४१ वर्षीय रोनाल्डोले पनि आफ्नो छैटौं विश्वकप खेलिरहेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल (२३१) र सर्वाधिक गोल (१४५) गर्ने कीर्तिमान उनको नाममा छ। यद्यपि विश्वकप उपाधि जित्ने सपना भने अझै अधुरै छ।
जर्मनीका अनुभवी गोलरक्षक मानुएल नोएर चौथो स्थानमा छन्। २०१४ मा जर्मनीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ४० वर्षीय नोएर पाँचौं विश्वकप खेलिरहेका छन्।
पाँचौं स्थानमा ब्राजिलका नेयमार छन्। चोटका कारण पछिल्ला वर्षहरू कठिन बने पनि ३४ वर्षीय नेयमारका लागि विश्वकप जित्ने सपना अझै बाँकी छ। उनले विश्वकपमा १४ खेलमा ८ गोल र ४ असिस्ट गरेका छन्।
सूचीमा छैटौं स्थानमा बेल्जियमका केभिन डे ब्रुयन, सातौंमा नेदरल्यान्ड्सका भर्जिल भान डाइक, आठौंमा इजिप्टका मोहम्मद सलाह, नवौंमा दक्षिण कोरियाका सन ह्युङ–मिन तथा दशौं स्थानमा सेनेगलका साडियो माने रहेका छन्।
यीमध्ये अधिकांश खेलाडी ३४ वर्ष वा सोभन्दा माथिका छन्। त्यसैले सन् २०३० को विश्वकपसम्म उनीहरू अन्तर्राष्ट्रिय फुटबलमा रहने सम्भावना कम मानिएको छ। यस कारण विश्व फुटबलका यी चर्चित स्टारहरूका लागि जारी विश्वकप सम्भवतः अन्तिम विश्वकपका रूपमा स्मरणीय बन्न सक्छ।