फिफा विश्वकप २०२६ मा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोजस्ता अनुभवी खेलाडीले आफ्नो प्रभाव कायम राखिरहँदा नयाँ पुस्ताका युवा खेलाडीहरूले पनि विश्व फुटबलमा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा २१ वर्ष वा सोभन्दा कम उमेरका ८५ खेलाडी सहभागी छन्। तीमध्ये धेरैले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै भविष्यका स्टारका रूपमा आफूलाई स्थापित गरेका छन्।
सेनेगलका १८ वर्षीय इब्राहिम म्बाये विश्वकपमा गोल गर्ने चौथो सबैभन्दा कान्छा खेलाडी बने। उनले फ्रान्ससँग ३–१ ले पराजित भएको खेलमा टोलीका लागि सान्त्वना गोल गरेका थिए।
त्यसको पाँच दिनपछि स्पेनका १८ वर्षीय लामिन यामालले साउदी अरेबियाविरुद्ध ४–० को जितमा गोल गर्दै विश्वकपमा आफ्नो प्रभावशाली यात्रा जारी राखे।
यस्तै, आयोजक राष्ट्र मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा विश्वकपमा आयोजक टोलीबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी बने। उनले दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।
आयुब बुआद्दी : मोरक्कोको नयाँ मिडफिल्ड जनरल
१८ वर्षीय आयुब बुआद्दीले विश्वकपमा मोरक्कोको मिडफिल्ड सम्हाल्दै सबैको ध्यान खिचेका छन्। ब्राजिलविरुद्धको डेब्यु खेलमै उनले ६६ सफल पास पूरा गरेका थिए, जुन यस शताब्दीमा विश्वकप डेब्युमा ५० भन्दा बढी पास पूरा गर्ने दोस्रो सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान हो।

त्यसपछि स्कटल्यान्डविरुद्ध पनि उनले ६४ सफल पास पूरा गर्दै १८ वर्ष वा कम उमेरमा लगातार दुई विश्वकप खेलमा ५० भन्दा बढी पास पूरा गर्ने सन् १९६६ यताकै पहिलो खेलाडी बने।
यान डियोमान्डे : युरोपेली क्लबको नजरमा
आइभरी कोस्टका १९ वर्षीय विङ्गर यान डियोमान्डेले पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। इक्वेडरविरुद्ध १–० को जितमा उनले पाँच गोल अवसर सिर्जना गरेका थिए भने जर्मनीसँगको खेलमा दुई महत्वपूर्ण पास दिएका थिए।

उनको प्रदर्शनपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र इंग्लिस क्लब लिभरपुलले चासो देखाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। डियोमान्डेको प्रेरणादायी प्रदर्शनकै बलमा आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो।
जोहान मान्जाम्बी : स्वीट्जरल्याण्डका सुपर सब
स्वीट्जरल्याण्डका २० वर्षीय जोहान मान्जाम्बी विश्वकपका उत्कृष्ट युवा खेलाडीमध्ये एक बनेका छन्।
बोस्निया–हर्जेगोभिनाविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेका उनले दुई गोल गर्दै टोलीलाई ४–१ को जित दिलाएका थिए। उनी विश्वकप इतिहासमा वैकल्पिक खेलाडीका रूपमा प्रवेश गरेर एकै खेलमा दुई गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने।

समूह चरणमा उनले तीन गोल र एक असिस्ट गर्दै यस शताब्दीमा २१ वर्षमुनिका खेलाडीमध्ये एकै विश्वकपमा चार वा बढी गोल योगदान गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि यो उपलब्धि फ्रान्सका किलियन एमबाप्पे र जर्मनीका थोमस मुलरले हासिल गरेका थिए।
केरिम अलाजबेगोभिचको ऐतिहासिक गोल
बोस्निया–हर्जेगोभिनाका १८ वर्षीय केरिम अलाजबेगोभिचले कतारविरुद्ध गरेको शानदार लामो दूरीको गोलले नयाँ कीर्तिमान बनायो।
१८ वर्ष २७६ दिनको उमेरमा उनले विश्वकप इतिहासमा बक्सबाहिरबाट गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भए। यसअघि यो कीर्तिमान फ्रान्सका किलियन एमबाप्पेको नाममा थियो।

कतारविरुद्धको खेलमा उनले सबैभन्दा बढी १७ द्वन्द्वमा प्रतिस्पर्धा गरेका थिए भने १० द्वन्द्व जित्नुका साथै ६ सफल ड्रिब्लिङ र दुई गोल अवसर सिर्जना गरेका थिए।
नेस्टोरी इरानकुन्डाले बनाए इतिहास
अस्ट्रेलियाका २० वर्षीय नेस्टोरी इरानकुन्डाले टर्कीविरुद्ध गोल गर्दै विश्वकपमा अस्ट्रेलियाका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने।
बुरुन्डी मूलका इरानकुन्डा तान्जानियाको शरणार्थी शिविरमा जन्मिएका हुन्। उनी बायर्न म्युनिखबाट २०२५ मा इंग्लिस क्लब वाटफोर्डमा आबद्ध भएका थिए। विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनपछि उनी अस्ट्रेलियाको भविष्यका प्रमुख खेलाडीका रूपमा हेरिएका छन्।

विश्वकप २०२६ ले अनुभवी खेलाडीसँगै नयाँ पुस्ताका प्रतिभाशाली फुटबलरलाई पनि विश्वमञ्चमा स्थापित गर्ने अवसर दिएको छ। समूह चरणपछि उनीहरूको प्रदर्शनले आगामी वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबलमा नयाँ युग सुरु हुने संकेत दिएको विश्लेषण गरिएको छ।