अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ का हालसम्म चार खेल सम्पन्न भएका छन्। क्यानडा, ब्राजिल, पाराग्वे र मोरक्कोले प्रतिस्पर्धीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।
नकआउट चरणको पहिलो खेलमा सह–आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमै पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको थियो। इन्जुरी समयमा स्टेफन युस्ताकियोले गरेको निर्णायक गोल क्यानडाको ऐतिहासिक जितको आधार बन्यो।
त्यसपछि भएको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिलले जापानमाथि कठिन २–१ को पुनरागमन जित निकाल्यो। पहिलो हाफमा काइशु सानोको गोलबाट पछि परेको ब्राजिलले दोस्रो हाफमा कासेमिरोको हेडरमार्फत बराबरी गर्यो। खेल इन्जुरी समयतर्फ धकेलिएको अवस्थामा गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्याए। अब ब्राजिलले अन्तिम १६ मा नर्वे र आइभरी कोस्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
राउण्ड अफ ३२ को अर्को रोमाञ्चक खेलमा पाराग्वेले चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै ठूलो उलटफेर गर्यो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत भएको थियो। यससँगै जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ।
अर्को खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो। निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएको खेलमा मोरक्कोले पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो। अब मोरक्कोले अन्तिम १६ मा क्यानडाको सामना गर्नेछ।
विश्वकपको विस्तारित ढाँचाअनुसार यसपटक पहिलो पटक ४८ टोली सहभागी भएका छन् भने समूह चरण पार गरेका ३२ टोलीले राउण्ड अफ ३२ खेलिरहेका छन्। नकआउट चरणका बाँकी खेलहरू आगामी केही दिनसम्म जारी रहनेछन्। आज आइभरी कोस्ट र नर्वे, फ्रान्स र स्विडेन तथा मेक्सिको र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।