समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा १ करोड २० लाख रुपैयाँ कर्जा असुली गर्दै ५९ लाख रुपैयाँभन्दा बढी बचत फिर्ता गरेको छ।
समितिको कार्यालयका अनुसार २०८३ जेठ महिनामा १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ सहकारीका १ हजार ४ सय ५२ जना साना बचतकर्ताको बचत फिर्ता गरिएको हो। सो अवधिमा सम्बन्धित सहकारीबाट असुली भएको रकम प्रयोग गरी बचत फिर्ता गरिएको बताइएको छ।
त्यसैगरी १ सय २२ जनाको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान गरिएको तथा १२ सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरिएको समितिले जनाएको छ।
समितिले हालै बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ र समस्याग्रस्त सहकारी संस्था पुनःसंरचना तथा व्यवस्थापन कार्यविधि २०८३ स्वीकृत गरी सोहीअनुसार कार्य अघि बढाएको छ।
समितिका अनुसार सहकारी व्यवस्थापनका लागि सार्वजनिक सूचना जारी गरी पुनःसंरचना प्रक्रिया सुरु गरिएको छ। साथै कर्मचारीको नयाँ संगठनात्मक संरचना स्वीकृत गरी पदस्थापन तथा जिम्मेवारी बाँडफाँटसमेत गरिएको छ।
समस्याग्रस्त सहकारीका ऋणी पहिचान गरी सम्पत्ति रोक्का राख्ने, तीनपुस्ते विवरण संकलन तथा सार्वजनिक गर्ने काम नियमित रूपमा भइरहेको कार्यालयले जनाएको छ।
त्यस्तै, करिब ४४ हजार बचतकर्ताको मागदाबी निवेदन प्रमाणीकरण चरणमा रहेको छ। १० हजारभन्दा कम बचत भएका साना बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने १४ सहकारीमध्ये ६ सहकारीको फिर्ता प्रक्रिया सम्पन्न भइसकेको छ भने अन्य सहकारीमा काम जारी रहेको छ।
समितिले बचत अपचलनमा संलग्न सहकारीका सञ्चालक, व्यवस्थापक तथा पूर्वसञ्चालकहरूको सम्पत्ति खोजी गर्न विशेष टोली परिचालन गरिएको समेत जनाएको छ।