अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै एकपछि अर्को कीर्तिमान बनाउँदै विश्व फुटबल इतिहासमा नयाँ अध्याय थपेका छन्। अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेका मेस्सीले एकै खेलमा चारवटा ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाए।
कान्सास सिटीमा भएको खेलमा मेस्सीले विश्वकप करियरकै पहिलो ह्याट्रिक पूरा गरे। २० वर्षअघि विश्वकपमा डेब्यु गरेका उनले पहिलो पटक विश्वकपमा तीन गोल गर्दै अर्को दुर्लभ उपलब्धि हासिल गरेका हुन्।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १६ पुर्याए। यससँगै उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजेको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गरेका छन्। अब एक गोल थप्नासाथ मेस्सी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नेछन्।
३८ वर्ष ३५७ दिनका मेस्सी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि बने। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा रहेको थियो, जसले सन् २०१८ मा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए।
त्यसैगरी, मेस्सी विश्वकप इतिहासमा छ वटा संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन्। उनले २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार छ विश्वकपमा सहभागिता जनाएर नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।
राष्ट्रिय टोलीका लागि आफ्नो २००औँ खेल खेलिरहेका मेस्सीले अर्को कीर्तिमान पनि बनाए। उनी विश्वकपमा बहुगोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्।
मेस्सीको ऐतिहासिक ह्याट्रिकको मद्दतमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि सहज जित निकाल्दै उपाधि रक्षा अभियान उत्कृष्ट ढंगले सुरु गरेको छ। अब अर्जेन्टिनाले समूह चरणको दोस्रो खेलमा अस्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ।
मेस्सीले अल्जेरियाविरुद्ध बनाएका प्रमुख कीर्तिमान
• विश्वकप इतिहासमा छ वटा संस्करण खेल्ने पहिलो खेलाडी
• विश्वकपमा पहिलो ह्याट्रिक
• विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा बढी उमेरका खेलाडी
• विश्वकप इतिहासमा सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी
• विश्वकपमा बहुगोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी
• अर्जेन्टिनाका लागि २०० खेल पूरा गर्ने खेलाडीमध्ये एक