फिफा विश्वकप २०२६ मा पहिलो पटक छनोट भएको कुरासाओ आज जर्मनीविरुद्ध ऐतिहासिक खेल खेल्दैछ। क्षेत्रफल र जनसंख्याका आधारमा विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र बनेको कुरासाओले फुटबल जगतमा प्रेरणादायी कथा लेखेको छ।
करिब १ लाख ५८ हजार जनसंख्या रहेको क्यारिबियन टापु राष्ट्र कुरासाओले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेको हो। छनोट चरणमा १० खेल खेल्दा उसले सात जित र तीन बराबरीको नतिजा निकालेको थियो।
कुरासाओका प्रशिक्षक डिक एड्भोकाट पनि चर्चाको केन्द्रमा छन्। ७८ वर्षीय एड्भोकाट विश्वकप इतिहासकै सबैभन्दा बढी उमेरका प्रशिक्षक बन्ने तयारीमा छन्। नेदरल्यान्ड्स राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक एड्भोकाटको अनुभवलाई कुरासाओको सबैभन्दा ठूलो बलका रूपमा हेरिएको छ।
कुरासाओ टोलीका अधिकांश खेलाडी नेदरल्यान्ड्समा हुर्किएका वा त्यहाँको युवा टोलीबाट खेलिसकेका छन्। टोलीमा रहेका १८ खेलाडीले नेदरल्यान्ड्सको युवा टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने रिचेड्ली बाजोएर र जोशुआ ब्रेनेटले सिनियर टोलीबाट समेत खेलिसकेका छन्।
अनुभवी मिडफिल्डर लिआन्ड्रो बाकुनाले विश्वकपमा पुग्नु देशका लागि गर्वको विषय भएको बताएका छन्। “हामी सानो राष्ट्र हौँ, तर हाम्रो हृदय ठूलो छ। यदि आत्मविश्वास र समर्पण छ भने धेरै टाढासम्म पुग्न सकिन्छ,” उनले भने।
यता जर्मनी भने विश्व फुटबलको शक्तिशाली राष्ट्रका रूपमा मैदान उत्रँदैछ। यद्यपि सन् २०१८ र २०२२ का विश्वकपमा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक पुनरागमनको लक्ष्यसहित प्रतियोगितामा सहभागी भएको छ।
छनोट चरणमा जर्मनीले छमध्ये पाँच खेल जित्दै सहज रूपमा विश्वकप यात्रा तय गरेको थियो। फुटबल विश्लेषकहरूका अनुसार जर्मनी खेलको स्पष्ट दाबेदार भए पनि कुरासाओले छनोट चरणमा देखाएको संघर्ष र आत्मविश्वासका कारण खेल रोमाञ्चक बन्न सक्ने अपेक्षा गरिएको छ।
विश्वकपको सबैभन्दा सानो राष्ट्रले विश्व फुटबलको महाशक्ति जर्मनीविरुद्ध कस्तो प्रदर्शन गर्छ भन्ने चासो अहिले विश्वभरका फुटबल समर्थकमाझ छ।