फिफा विश्वकप २०२६ को सुरुआती चरणसँगै खेलका केही नयाँ नियमहरू पनि चर्चाको विषय बनेका छन्। भिडियो सहायक रेफ्री (भिएआर), हाइड्रेसन ब्रेक तथा थ्रो–इनसम्बन्धी नियम परिवर्तनले खेलाडी, प्रशिक्षक, समर्थक र टेलिभिजन दर्शकसम्मलाई केही अन्योलमा पारेको छ।
प्रतियोगिताका सुरुआती खेलहरूमा दुई आयोजक राष्ट्रले जित निकाल्दा अर्को आयोजक टोलीले आकर्षक प्रदर्शनसहित बराबरी खेलेको छ। तर मैदानभित्रका नयाँ नियमहरू भने खेलको मुख्य चर्चाको विषय बनेका छन्।
भिएआर निर्णयमाथि प्रश्न
अमेरिका र पाराग्वेबीचको खेलमा रेफ्री ड्यानी माकेलीले सुरुआतमा अमेरिकी कप्तान टिम रिमलाई पहेँलो कार्ड दिएका थिए। तर भिएआरको सुझावपछि निर्णय उल्ट्याउँदै पाराग्वेका मिगेल अल्मिरोनलाई डाइभ गरेको आरोपमा पहेँलो कार्ड देखाइयो।
धेरैले उक्त निर्णयलाई सही माने पनि फुटबल नियमअनुसार ‘मिस्टेकन आइडेन्टिटी’ अर्थात् गलत खेलाडीलाई कारबाही गरिएको अवस्थामा मात्र भिएआर हस्तक्षेप गर्न मिल्ने भएकाले निर्णयको वैधानिकतामाथि प्रश्न उठेको छ।
फुटबल विश्लेषकहरूले सही नतिजा प्राप्त भए पनि निर्णय प्रक्रिया नियमअनुकूल नभएको टिप्पणी गरेका छन्।
हाइड्रेसन ब्रेकले खेल चार भागमा विभाजित
फिफाले विश्वकपमा मौसमको अवस्थालाई बेवास्ता गर्दै प्रत्येक खेलमा अनिवार्य तीन मिनेटको हाइड्रेसन ब्रेक लागू गरेको छ।
यसले खेलाडीहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने विश्वास गरिए पनि केही प्रशिक्षकहरू भने असन्तुष्ट देखिएका छन्। अमेरिकाका प्रशिक्षक मौरिसियो पोचेटिनोले अत्यधिक गर्मी नभएको अवस्थामा यस्तो ब्रेक आवश्यक नरहेको बताएका छन्।
यता पूर्व इंग्ल्यान्ड डिफेन्डर फिल जागिल्काले यसले खेललाई दुई हाफको सट्टा चार क्वार्टरमा विभाजन गरेको अनुभूति हुने प्रतिक्रिया दिएका छन्।
हाइड्रेसन ब्रेकका क्रममा प्रशिक्षकहरूले खेलाडीलाई रणनीतिक निर्देशन दिन पाउने भएकाले खेलको नतिजामा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
थ्रो–इनमा पाँच सेकेन्डको नियम
खेलको गति बढाउने उद्देश्यले यस विश्वकपमा थ्रो–इन गर्न पाँच सेकेन्डको समयसीमा लागू गरिएको छ।
यदि रेफ्रीले खेलाडीले समय खेर फालिरहेको ठानेमा पाँच सेकेन्डको गणना सुरु हुन्छ। निर्धारित समयभित्र थ्रो–इन नगरिए बल विपक्षी टोलीलाई दिइन्छ।
क्यानडा र बोस्निया–हर्जेगोभिनाबीचको खेलमा बोस्नियाका डिफेन्डर सियाद कोलासिनाचले समयमै थ्रो–इन गर्न नसक्दा रेफ्रीले बल क्यानडालाई दिएका थिए।
खेललाई थप छिटो र निष्पक्ष बनाउने प्रयास
फिफाले विश्वकपमा लागू गरिएका नयाँ नियमहरूको उद्देश्य खेललाई छिटो, निष्पक्ष र दर्शकमैत्री बनाउनु रहेको जनाएको छ। तर प्रतियोगिताको सुरुआती चरणमै केही नियमको व्याख्या र प्रयोगलाई लिएर विवाद तथा अन्योल देखिएकाले आगामी दिनमा थप स्पष्टता आवश्यक पर्ने देखिएको छ।