अमेरिकी अर्बपति उद्यमी एलन मस्क विश्वकै पहिलो ‘खर्बपति’ (ट्रिलियनियर) बनेका छन्। उनको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको इतिहासकै सबैभन्दा ठूलो सेयर बजार प्रवेश (आईपीओ) सफल भएपछि मस्कको कुल सम्पत्ति १.११ खर्ब अमेरिकी डलर पुगेको बताइएको छ।
ब्लुमबर्ग बिलियनेयर्स सूचकांकअनुसार मस्कको सम्पत्ति १.११ खर्ब डलर पुगेपछि उनी विश्वका सबैभन्दा धनी व्यक्तिका रूपमा झन् मजबुत बनेका छन्। स्पेसएक्स नास्डाक सेयर बजारमा २.२ खर्ब डलर मूल्यांकनसहित सूचीकृत भएको हो।
कम्पनीले प्रारम्भिक रूपमा प्रतिशेयर १३५ डलर मूल्य तोके पनि कारोबार सुरु भएपछि मूल्य १५० डलर पुगेको थियो। केही समयमै सेयर मूल्य १७६.५० डलरसम्म पुगेपछि लगानीकर्ताहरूको उत्साह स्पष्ट देखिएको थियो। अन्ततः शुक्रबार कारोबार बन्द हुँदा स्पेसएक्सको सेयर मूल्य करिब १६१ डलरमा पुगेको थियो।
आईपीओमार्फत स्पेसएक्सले ७५ अर्ब डलरभन्दा बढी रकम संकलन गरेको छ। कम्पनीमा मस्कको ४२ प्रतिशत स्वामित्व रहेको छ, जसका कारण कम्पनीका अधिकांश रणनीतिक निर्णयमा उनको प्रत्यक्ष नियन्त्रण रहनेछ।
ब्लुमबर्गका अनुसार स्पेसएक्समा रहेको मस्कको सेयरको मूल्य मात्र ७६७ अर्ब डलरभन्दा बढी पुगेको छ। यसबाहेक उनीसँग टेस्लामा १६८ अर्ब डलर बराबरको सेयर तथा अन्य विकल्पहरू समेत रहेका छन्।
सम्पत्ति वृद्धिसँगै असमानताको बहस
मस्क विश्वका पहिलो खर्बपति बनेसँगै विश्वव्यापी रूपमा आर्थिक असमानताको बहस पनि चर्किएको छ। उनको व्यक्तिगत सम्पत्ति पोल्याण्ड वा स्विट्जरल्यान्डजस्ता देशहरूको वार्षिक आर्थिक उत्पादनको हाराहारीमा पुगेको विश्लेषण गरिएको छ।
राजनीतिक रूपमा पनि मस्क प्रभावशाली र विवादास्पद व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुनःनिर्वाचन अभियानमा ठूलो आर्थिक सहयोग गरेका थिए। साथै, सरकारी खर्च कटौतीसम्बन्धी विभिन्न नीतिमा समेत सक्रिय भूमिका निर्वाह गरेका थिए।
नाफाभन्दा बढी घाटामा स्पेसएक्स
विशाल मूल्यांकन प्राप्त गरे पनि स्पेसएक्स हालसम्म नाफामा भने पुग्न सकेको छैन। कम्पनीले सन् २०२५ र २०२६ मा मात्रै ९ अर्ब डलरभन्दा बढी घाटा व्यहोरेको वित्तीय विवरणले देखाएको छ।
रकेट निर्माण, पुनःप्रयोग गर्न सकिने अन्तरिक्ष प्रणाली, स्टारलिंक इन्टरनेट सेवा तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको ठूलो लगानीका कारण कम्पनी घाटामा रहेको बताइएको छ।
यस वर्ष मस्ककै अर्को कम्पनी एक्सएआईलाई अधिग्रहण गरेपछि स्पेसएक्सले एआई क्षेत्रमा समेत आफ्नो उपस्थिति विस्तार गरेको छ। कम्पनीले भविष्यमा अन्तरिक्षमै डाटा सेन्टर निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।
चन्द्रमा र मंगल ग्रहसम्म अर्थतन्त्र विस्तार गर्ने लक्ष्य
स्पेसएक्सले आफ्नो दीर्घकालीन लक्ष्य पृथ्वीबाहिर मानव बस्ती विस्तार गर्नु रहेको जनाएको छ। कम्पनीले भविष्यमा चन्द्रमा र मंगल ग्रहसम्म मानिस तथा सामान नियमित रूपमा पुर्याएर ‘चन्द्र अर्थतन्त्र’ निर्माण गर्ने महत्वाकांक्षा व्यक्त गरेको छ।
यद्यपि कम्पनीले आफ्ना धेरै परियोजनाहरू अत्यधिक जटिल, परीक्षण नभएका वा अझै अस्तित्वमै नरहेका प्रविधिमा आधारित भएकाले व्यावसायिक सफलता सुनिश्चित नभएको स्वीकार गरेको छ।
विश्लेषकहरूका अनुसार स्पेसएक्सको हालको मूल्यांकन वास्तविक आम्दानीभन्दा भविष्यप्रतिको आशा र मस्कको दृष्टिकोणप्रतिको विश्वासमा आधारित छ। यद्यपि लगानीकर्ताहरूले कम्पनीको दीर्घकालीन सम्भावनालाई सकारात्मक रूपमा हेरेका छन्।
स्पेसएक्सको ऐतिहासिक आईपीओसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति बनेका छन् भने अन्तरिक्ष, कृत्रिम बुद्धिमत्ता र भविष्यका प्रविधिमा आधारित व्यवसायहरूको सम्भावनाबारे नयाँ बहस पनि सुरु भएको छ।