विश्व फुटबलका करोडौँ समर्थकले प्रतिक्षा गरेको फिफा विश्वकप २०२६ आजदेखि उत्तर अमेरिकामा सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यो संस्करण विश्वकप इतिहासकै सबैभन्दा ठूलो, भव्य र कीर्तिमानी प्रतियोगिता बन्ने अपेक्षा गरिएको छ।
मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा हुने उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। नेपाली समयअनुसार मध्यराति १२:४५ बजे सुरु हुने उक्त खेलसँगै विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको औपचारिक शुभारम्भ हुनेछ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको ९६ वर्षे इतिहासमा पहिलो पटक तीन राष्ट्र संयुक्त आयोजक बनेका छन्। यस संस्करणमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइएको छ भने कुल खेल संख्या १०४ पुगेको छ, जुन विश्वकप इतिहासमै सर्वाधिक हो।
४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा पुग्नेछन्। यसपटक पहिलो पटक ‘राउण्ड अफ ३२’ समावेश गरिएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक बनाएको छ।
विश्वकप २०२६ ले नयाँ इतिहास पनि रचेको छ। उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै डेब्यु गर्न लागेका छन्। करिब डेढ लाख जनसंख्या भएको कुराकाओ विश्वकप खेल्ने सबैभन्दा सानो राष्ट्र बनेको छ।
प्रतियोगितामा अनुभवी र युवा खेलाडीहरूको आकर्षक मिश्रण देखिनेछ। लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी छैटौँ विश्वकप खेल्दै इतिहास रच्नेछन् भने लामिन यमाल, एर्लिङ हालान्ड लगायत नयाँ पुस्ताका स्टारहरू विश्व मञ्चमा चम्किन तयार छन्।
उपाधि दाबेदारका रूपमा साविक विजेता अर्जेन्टिना, फ्रान्स, स्पेन, ब्राजिल, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सलाई हेरिएको छ। यद्यपि विस्तारित फर्म्याट र नयाँ संरचनाले प्रतियोगितालाई अझ अनिश्चित बनाएको विश्लेषकहरूको भनाइ छ।
यसपटकको विश्वकपमा पुरस्कार राशि पनि कीर्तिमानी रूपमा बढाइएको छ। विजेता टोलीले ५ करोड अमेरिकी डलर प्राप्त गर्नेछ भने कुल पुरस्कार राशि ६५ करोड ५० लाख अमेरिकी डलर रहनेछ, जुन अघिल्लो संस्करणको तुलनामा करिब ५० प्रतिशत बढी हो।
फुटबलप्रेमीहरूको नजर अब एकै प्रश्नमा केन्द्रित छ—विश्व फुटबलको नयाँ सम्राट को बन्ला? यसको उत्तर भने जुलाई १९ मा हुने फाइनलसँगै मात्र प्राप्त हुनेछ।