नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से १.५४ अंकले घट्दै २ हजार ७३३.०६ बिन्दुमा झरेको हो।
कारोबारको क्रममा बजार एक समय २ हजार ७०२ अंकसम्म झरेको थियो। तर अन्तिम समयमा केही सुधार आएपछि नेप्से उक्त स्तरभन्दा माथि बन्द भएको हो। यसअघि बिहीबार १३ अंक, शुक्रबार ११ अंक र सोमबार २० अंकले बजार घटेको थियो।
यद्यपि, बजार घटे पनि कारोबार रकममा उल्लेखनीय वृद्धि देखिएको छ। सोमबार ४ अर्ब ८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार यो रकम बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम वैशाख १५ यताकै उच्च रहेको बताइएको छ।
आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकतर्फ फाइनान्स क्षेत्र सबैभन्दा धेरै १.०१ प्रतिशतले घटेको छ।
बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, लगानी ०.१२ प्रतिशत, जीवन बीमा ०.३७ प्रतिशत, लघुवित्त ०.२० प्रतिशत, निर्जीवन बीमा ०.४६ प्रतिशत तथा व्यापार समूह ०.३८ प्रतिशतले घटेका छन्।
यस्तै अन्य समूह ०.२९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत, जलविद्युत् ०.०१ प्रतिशत तथा होटल तथा पर्यटन समूह ०.१२ प्रतिशतले वृद्धि भएका छन्।
कम्पनीगत प्रदर्शनतर्फ सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १५–१५ प्रतिशतले बढेको छ। यी दुवै हालै शेयर बजारमा सूचीकृत भएका नयाँ कम्पनी हुन्। त्यस्तै सप्तकोशी विकास बैंकको शेयर मूल्य १०.९८ प्रतिशत, उपकार लघुवित्तको ८.७० प्रतिशत तथा अपर हेवाखोलाको ६.१७ प्रतिशतले वृद्धि भएको छ।
यता, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ९.१६ प्रतिशतले घटेको छ। सामुदायिक लघुवित्तको ७.३७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत तथा मल्टिपर्पस फाइनान्सको ३.०५ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनी, अपर हेवाखोला, नेपाल रिइन्स्योरेन्स, रिडी पावर तथा शिवम् सिमेन्ट सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूको सूचीमा अग्रस्थानमा रहेका छन्।
लगातार चौथो दिन बजार घटे पनि कारोबार रकममा आएको वृद्धि र केही क्षेत्रगत सुधारले लगानीकर्ताहरूको सक्रियता भने कायम रहेको संकेत गरेको छ।