गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको अल्पायुमै दिल्लीस्थित निवासमा कार्डियाक अरेस्टका कारण निधन भएको खबरले कला क्षेत्र स्तब्ध बनेको छ। हाँस्दाखेल्दाको जीवन एकाएक टुंग्याउने यो घटनाले फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ—आखिर कार्डियाक अरेस्ट भनेको के हो, र किन यसले केही मिनेटमै ज्यान लिन्छ ?
अचानक हुने मृत्युलाई प्रायः ‘हृदयघात’ भनेर बुझ्ने गरिए पनि चिकित्सकहरूका अनुसार धेरैजसो यस्ता घटनाको वास्तविक कारण कार्डियाक अरेस्ट नै हुन्छ। कार्डियाक अरेस्ट भनेको मुटुले अचानक काम गर्न छोड्नु हो, जसले ३ देखि ५ मिनेटभित्रै मृत्यु निम्त्याउन सक्छ।
सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. रञ्जितकुमार शर्माका अनुसार ‘कार्डियाक’ शब्दले मुटुलाई जनाउँछ भने ‘अरेस्ट’ को अर्थ रोक्नु वा बन्द हुनु हो। “जब मुटुको विद्युतीय प्रणाली बिग्रन्छ, मुटुको चाल अनियमित हुन्छ र रगत पम्प गर्न सक्दैन। यही अवस्थालाई कार्डियाक अरेस्ट भनिन्छ,” डा. शर्मा भन्छन्।
उनका अनुसार कार्डियाक अरेस्ट हुँदा केही सेकेन्डमै यसको असर मस्तिष्कमा देखिन थाल्छ। “व्यक्ति अचानक बेहोस हुन्छ, सास रोकिन्छ र शरीरमा अक्सिजनको आपूर्ति बन्द हुन्छ। यदि ३–५ मिनेटभित्र मुटु पुनः सञ्चालनमा आएन भने मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन्छ र मृत्यु हुन्छ,” उनी स्पष्ट पार्छन्।
के कार्डियाक अरेस्टको उपचार सम्भव छ ?
चिकित्सकहरूका अनुसार कार्डियाक अरेस्टको उपचार सम्भव छ, तर समय नै जीवन र मृत्युबीचको निर्णायक हुन्छ। डा. रञ्जित शर्माका अनुसार कार्डियाक अरेस्ट हुँदा औषधि होइन, पहिलो र सबैभन्दा महत्वपूर्ण उपचार कार्डियो पल्मोनरी रिससिटेसन (सीपीआर) हो।
“सीपीआर दिंदै तत्काल नजिकको अस्पताल पुर्याउन सकियो भने बिरामीको ज्यान बचाउन सकिन्छ र उनी फेरि सामान्य जीवनमा फर्किन सक्छन्,” डा. शर्मा भन्छन्। यही कारण सीपीआरलाई ‘बेसिक लाइफ सपोर्ट’ भनिन्छ।
यदि कोही व्यक्ति अचानक ढलेको देखियो भने ढिलाइ नगरी छाती थिचेर सीपीआर सुरु गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ। ३–५ मिनेटभित्र मुटुको चाल फर्काउन नसकिए मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त भई मृत्यु हुन सक्छ।
दीर्घकालीन उपचार पनि सम्भव
कार्डियाक अरेस्टबाट बाँच्न सफल व्यक्तिमा पछि मुटुको वास्तविक समस्या पत्ता लगाएर पेसमेकर, औषधि वा शल्यक्रियामार्फत दीर्घकालीन उपचार गर्न सकिने चिकित्सकहरू बताउँछन्।
प्रशान्त तामाङको असामयिक निधनले केवल एउटा कलाकार गुमेको छैन, यसले ‘कार्डियाक अरेस्ट’ जस्तो मौन तर घातक खतरा प्रति समाजलाई सचेत गराउने कठोर सन्देश पनि दिएको छ।