क्यासिनोमा नेपाली नागरिकको प्रवेश निषेध हुँदाहुँदै विराटनगरका दुई होटलभित्र सञ्चालनमा रहेका क्यासिनोमा खुलेआम जुवा खेलिरहेका २० जना नेपालीलाई प्रहरीले मध्यराति छापा मारेर नियन्त्रणमा लिएको छ।
आइतबार राति बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटलभित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनो मा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले छापा मारेको हो।
छापा मार्ने क्रममा रत्ना होटलस्थित गोल्डेन क्यासिनोबाट १४ जना र बिग होटलस्थित च्याम्पियन जोन क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रमुख कबित कट्वालले जानकारी दिइन्।
पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली नागरिक रहेका छन्। प्रहरीले उनीहरूविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गर्ने तयारी गरिरहेको जनाएको छ।
क्यासिनोमा नेपाली नागरिकको प्रवेश कानुनी रूपमा निषेध भए पनि विराटनगरका यी क्यासिनोहरूमा नेपालीको आवतजावत सहज रहेको र यसकै कारण पटक–पटक विवाद तथा झगडाका घटना हुँदै आएको प्रहरीको भनाइ छ।
यसअघि गत चैत ३ गते रत्ना होटलस्थित क्यासिनो परिसरमा क्यासिनो विवादकै क्रममा किरण लामा र रोनाल कँडेलको समूह तथा अभिषेक गिरीसहितको समूहबीच कुटाकुट भएको थियो, जसमा तीन जना घाइते भएका थिए।
त्यस्तै, २०८० पुस २८ गते बिग होटलमा रहेको क्यासिनोमा जुवा खेल्ने क्रममा सुरु भएको विवादले उग्र रूप लिँदा क्यासिनो बाहिर दुई समूहबीच खुकुरी हानाहान भएको थियो। उक्त घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका थिए।