जाडो मौसम सुरु हुनासाथ देशभरि तापक्रममा गिरावट आउँछ, तर यसको सबैभन्दा प्रत्यक्ष र गहिरो असर मधेश प्रदेशमा देखिने गर्दछ । भौगोलिक विशेषता, घना बस्ती, कमजोर स्वास्थ्य पूर्वाधार र आर्थिक अवस्था कमजोर समुदायका कारण यहाँ जाडोले ल्याउने स्वास्थ्य जोखिम अझ बढी गम्भीर बन्न सक्छ । हालै तापक्रम तीव्र रुपमा घट्दै गएपछि मधेश प्रदेशमा स्वास्थ्य चुनौती थप चर्किन सक्ने अनुमान गरिएको छ । जाडोमा फैलिन सक्ने श्वासप्रश्वाससम्बन्धी रोग मधेश प्रदेशमा बढी देखिने खतरा हुन्छ । धुलो–धुँवा, चिसो हावा, तथा खुला ठाउँमा बस्ने बानीले दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस जस्ता समस्या तीव्र हुन्छन् । बालबालिका र वृद्धवृद्धा यसका सबैभन्दा जोखिम समूह हुन् । स्वास्थ्यकर्मीहरूको भनाइ अनुसार जाडो बढेसँगै अस्पतालमा सास फेर्न गाह्रो हुने, ज्वरो आउने, र फोक्सोमा संक्रमण बढ्ने बिरामीको संख्या अचानक बढ्ने गरेको अनुभव छ ।
अर्कोतर्फ फ्लु, भाइरल संक्रमण र झाडापखालाजस्ता रोग पनि जाडोमा सहजै फैलिन सक्छन् । मधेश प्रदेशका धेरै क्षेत्रहरूमा सुरक्षित खानेपानी र उचित सरसफाई अभाव रहेकोले संक्रमणको जोखिम झनै बढी हुन्छ । चिसो मौसममा पानी कम पिउने बानीले शरीर निर्जलीकरण हुने, प्रतिरक्षा क्षमता कमजोर हुने र भाइरसले छिटो असर पार्ने सम्भावना उच्च हुन्छ ।
मधेशमा जाडोका कारण देखिने अर्को चुनौती दुर्धटना र आगलागी पनि हो । हिउँदमा तातिन खुला स्थानमा बालिने आगो (झोपा, भुसा, टायर, दाउरा) ले धुवाँ बढाउँछ, जसले वातावरण प्रदूषित मात्र होइन, फोक्सोमा गम्भीर असर पु¥याउँछ । यसका साथै, यही कारणले आगलागीका घटना पनि दोहोरिने गरेका छन् । स्वास्थ्य जोखिमसँगै अत्यधिक चिसोबाट हुने हाइपोथर्मिया र फ्रस्टबाइट जस्ता समस्या पनि बेवास्ता गर्न नहुने यथार्थ हो । मधेशमा गरीब तथा बिपन्न समुदाय चिसोबाट बढी प्रभावित हुन्छन्, किनकि उनीहरूलाई पर्याप्त न्यानो कपडा, राम्रो बस्ने घर वा तताउने साधनको पहुँच कम हुन्छ ।
जाडोले कृषिमा असर पारेर खाद्य असुरक्षाको जोखिम समेत बढाउन सक्छ । बाली नस्ट हुँदा पोषण अभाव बढ्ने र पोषण कमी भएका व्यक्तिहरू संक्रमणमा छिटो फस्ने सम्भावना रहन्छ । यी सबै चुनौतीलाई ध्यानमा राख्दै, मधेश प्रदेशमा पहिले नै आवश्यक तयारी गर्नु अत्यन्त जरुरी छ । सबै स्थानीय तहले स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरणको व्यवस्थापन, आपतकालीन कक्ष तयारी र स्वास्थ्यकर्मीहरूको मोविलाइजेसनमा जोड दिनु पर्छ । जोखिममा रहेका समुदायका लागि न्यानो कपडाको वितरण, अस्थायी न्यानो केन्द्र स्थापना र आगलागी नियन्त्रणका लागि जनचेतना कार्यक्रम आवश्यक छन् । साथै, विद्यालय, सामुदायिक भवन र स्थानीय संस्थाहरूले जाडोमा स्वास्थ्य सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने अभियान चलाउनु पर्छ ।
जाडोको प्रहार प्राकृतिक प्रक्रिया भए पनि यसले पार्ने स्वास्थ्य असरलाई मानवीय तयारी, सही व्यवस्थापन र समयमै गरिएको हस्तक्षेप मार्फत न्युनिकरण गर्न सकिन्छ । मधेश प्रदेशमा जाडो गम्भीर चुनौती बन्दै गए पनि समन्वित प्रयास, जनचेतना र उचित योजना भएको खण्डमा यसलाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिन्छ । जाडो बढ्दै गएको यतिबेला, प्रदेश सरकारले मात्र होइन, समुदाय स्वयं पनि सचेत र जिम्मेवार बन्नु अत्यावश्यक छ ।
जाडोका जोखिमहरू पूर्वानुमान गर्न सकिने भएकाले स्थानीय सरकारको समयमै गरिएको तयारी, सही व्यवस्थापन र समुदाय–सरकार सहकार्य नै मुख्य समाधान हो । मधेश प्रदेशमा जाडो बढेसँगै स्थानीय सरकारले तात्कालीन, मध्यमकालीन, र दीर्घकालीन रूपमा धेरै प्रभावकारी कदम चाल्न सक्छन् । तात्कालिक रूपमा लिनुपर्ने कदम जोखिमग्रस्त क्षेत्रमा न्यानो केन्द्र स्थापना, बस्तीका टोल–टोलमा सामुदायिक भवन, विद्यालय वा वार्ड कार्यालयमा अस्थायी न्यानो केन्द्र सञ्चालन हुनु पर्दछ । विपन्न, असहाय, सडकमा बस्ने, वृद्ध, अशक्त र बालबालिकालाई प्राथमिकता दिनु आवश्यक छ । न्यानो कपडा तथा ब्लाङ्केट वितरण, स्थानीय तहमै दिगो रूपमा राहतको अग्रिम तयारी रुघाखोकी, निमोनिया, दम, ज्वरोजस्ता जाडोजन्य रोगका औषधि तथा सामाग्रीको आपूर्ति सुनिश्चित गर्न सकिन्छ ।