डा. मञ्जु राय स्त्री तथा प्रसुति रोग विशेषज्ञ हुन् । उनले कलेज अफ मेडिकल साइन्सेस्। भरतपुरबाट एमबीबीएस र परोपकार स्त्री तथा प्रसुति अस्पताल थापाथलीबाट एमडी गरेकी हुन् । प्रजनन्सम्बन्धी तालिम प्राप्त गरी बाँझोपनको उपचार सेवा दिँदैआएकी राय विगत १५ वर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय छिन् । नारायणी अस्पताल र जननी क्लिनिकमा सेवारत डा. रायसँग गरिएको कुराकानी:
गर्भधारण के हो ?
सामान्य अर्थमा गर्भधारण भनेको गर्भ रहनु हो । गर्भधारणको राम्रो जानकारी नहुँदा निसन्तानपनको समस्या भएको छ । महिलाको डिम्बाशयबाट अण्ड निस्किएर नलीमा आएर बसेको अवस्थामा शुक्रकिटको भेट भएर बनेको भ्रुण ५ दिनसम्ममा नलीबाट आएर बच्चा बस्ने ठाउँमा टाँस्सिनु गर्भधारण हो । महिलाको महिनावारी नियमित २८ देखि ३० दिनमा हुन्छ भने महिनावारीको १४ दिनमा डिम्ब फुट्ने गर्छ । डिम्ब फुटेर निस्कएको अण्डलाई नलीले समातेर नलीमा राख्छ । त्यो अण्ड २४ देखि ४८ घण्टासम्म मात्र बाँच्छ । यदी अण्डाको मिलन शुक्रकिटसँग भएन भने अण्ड मर्छ । १५ दिनपछि महिनावारी हुन्छ । डिम्बाशयमा भण्डारण भएको सानोसानो २÷३ एमएम अण्ड हरेक महिना कहिले दाँयाको र कहिले बायाँको एकवटा अण्ड फुट्ने गर्छ । महिलाहरूको अण्ड आमाको गर्भमा ५ महिनाको हँुदै भण्डारण हुन्छ । जन्मसम्ममा खर्च हुदै गएर ४ लाख अण्डा रहन्छ । महिलाको उमेर १२÷१३ वर्षमा महिनावारी शुरू भएपछि अण्डा एउटाएउटा गर्दै पाक्दै जाने हो । डिम्बाशयको अण्डको भण्डारण सकिएपछि महिनावारी सुक्छ । अण्डको भण्डारण नै कम भएको अवस्थामा छिटोछिटो अण्ड सकिन्छ । उमेरको हिसाबले हरेक महिना महिनावारी भएपछि अण्ड कम हँुदै जान्छ । महिलाको २४÷२५ वर्षमा भने राम्रो अण्ड बन्छ । राम्रो अण्डबाट बच्चा राम्रो हुन्छ । महिलामा २४ वर्षपछि अण्डको गुणस्तर हरेक वर्ष ३÷३ प्रतिशतले घट्दै जान्छ । ३५ वर्षपछि अण्डा पुरानो भएपछि बच्चा नबस्ने समस्या हुन्छ । महिलाले राम्रो स्वस्थ्य बच्चा जन्माउन समयमा नै जन्माउनु पर्छ ।
महिलाको डिम्बाशयको नली कसरी बन्द हुन्छ ?
नर्मल बच्चा हुनको लागि दुवै नली खुला हुनु पर्छ । नली बन्द हुने अवस्थामा सेतो पानी बग्ने, तल्लोपेट दुख्ने समस्या हुन्छ । सेतो पानी बग्ने समस्याले पाठेघरबाट नलीमा पनि पानी, पिप र हुन्छ । सुक्ने क्रममा भित्रबाट नली खुम्चिन्छ । यसरी नली खुम्चेपछि बन्द हुन्छ । टिभीको बिरामी छातिमा मात्र हुन्छ भन्ने छैन । शरीरको हरेक भागमा हुन्छ । ट्युबरक्लोसिस् छ भनेपछि त्यसले गर्दा अलिकति खुला र बन्द गर्दै मालाजस्तो बनाइदिन्छ । सबै इन्फेक्सन र इन्डोमेट्रियोसिस् भएमा महिनावारी हुदाँ शरीरबाट बाहिर आएजस्तै पेटभित्र पनि जम्मा हुन्छ । रगतको गोला बन्छ । पाठेघरको बाहिर, भित्र, पेटमा, आन्द्रातिर सबै ठाउँमा बढेर नली टाँसिन्छ ।
आमाको गर्भमा नै राम्रो डिम्ब भण्डारण गर्न के गर्नु पर्छ ?
जन्मअघि नै आमाको पेटमा बच्चा हुदाँदेखि नै डिम्ब राम्रो हुनका लागि आमाको हर्मोनहरू चाहिन्छ । आमाले खानपिनमा ध्यान दिनुपर्छ । गर्भवती आमाले जंक फुडहरू खानु हँुदैन । केमिकल हालेर बनाएको खाना खानु हँुदैन । विषादी र रासायनिक मल प्रयोग गरेको तरकारीहरू खानु हँुदैन । आमाले राम्रोसँग सुत्नु पर्छ । तनाव लिनु हँुदैन । आमालाई थाइराइड, डाइबिटिज र वजन धेरै छ भने पनि बच्चामा आउँछ । चुरोट, रक्सी, खैनी, सुर्तीजस्ता पदार्थ खानलाई बन्द गर्नु पर्छ । दैनिक कसरत गर्नु पर्छ । जन्मिसकेपछि बच्चा १२÷१३ वर्ष भएपछि अण्ड खर्च हुन थालेपछि पनि जंकफुड खानु हँुदैन । जंकफुडको कारणले भनेको समयमा अण्ड बन्न सक्दैन । भण्डारण भएको सानासाना डिम्ब हर्मोनले डिम्बाशयमा भएको अण्ड बढाउने र फुट्ने काम हुन्छ । यो समयमा शुक्रकिटसँग मेल भएमा भ्रुणमा विकास हुन्छ, होइन भने मर्छ । अण्ड फुटेको १४ दिनमा नै महिनावारी हुन्छ ।
बाँझोपन के हो ?
श्रीमान र श्रीमति एक वर्षसम्म कुनै पनि परिवार नियोजनको साधनको प्रयोग नगरिकन सँगै बस्दा पनि गर्भधारण हँुदैन भने बाँझोपन हो । महिनामा एक दिन अण्ड फुटेको समयमा सम्पर्क भएमा मात्र बच्चा बस्छ । यदि त्यो समयमा सम्पर्क हुन सकेन भने महिनावारी भएर बच्चा बस्दैन । अर्को महिना पर्खिनु पर्छ । २४÷२५ वर्षको उमेर छ भने ६ महिनासम्म श्रीमान श्रीमति सँगै बसेर ६० प्रतिशतमा गर्भ रहन्छ । एक वर्षमा भने ८० प्रतिशत गर्भ रहन्छ । यदि एक वर्षसम्म पनि बच्चा भएन भने बाँझोपनको उपचार गर्नुपर्ने हुन्छ । यदि ३५ वर्षभन्दा बढी उमेरको महिला छ भने एक वर्ष समय नराखी ६ महिनादेखि नै निःसन्तानपनको उपचार शुरू गरिन्छ । नेपालमा १५ प्रतिशत बाँझोपनको समस्या छ । हरेक ६ जना मध्ये १ जनामा निसन्तानपन देखिन्छ ।
बाँझोपन किन हुन्छ र यसको उपचार कसरी गरिन्छ ?
महिला र पुरुषको बच्चा बन्न बराबरी नै भूमिका हुन्छ । महिला र पुरुष दुवैको कारण बाँझोपन हुन्छ । दम्पत्तिहरूमा ४० प्रतिशत पुरुषको कारण निसन्तानपन भएको छ । समाजमा खुलेर भन्न र देखाउन गाह्रो हुन्छ । महिलामा बच्चा नबसे पनि हर्मोनहरू परिवर्तन भइरहेको हुन्छ । नियमित महिनावारी नहुन पनि सक्छ । पुरुषमा विर्यको जाँच गरेमा कस्तो अवस्था छ पत्ता लगाउन सकिन्छ । पुरुषमा २ देखि ५ दिनसम्म जम्मा भएको विर्यलाई जाँच गरेर हेर्छौं । शुक्राणुको संख्या कति छ ? राम्रो चाल भएको शुक्राणु कति छ ? नर्मल खालको शुक्राणु कतिवटा छ । पिपहरू छ वा छैन हेरेर बाँझोपनको समस्या भए÷नभएको पत्ता लगाउँछौं । एक पटक विर्यको जाँच गर्नेबित्तिकै निसन्तानपन भन्न पनि मिल्दैन । विर्य जाँचमा दिँदा आधि पोखाएर दिएको पनि हुन सक्छ । एक महिनाको फरकमा अर्को जाँच गर्दा पनि रिपोर्ट उस्तै आएमा निसन्तानपन भएको भन्न सकिन्छ । विर्य राम्रो देखिएको छैन भने पुरुषको अण्डाशयमा विर्य बन्छ । यसमा सानो एउटा सेलबाट बीउ बन्छ । यो बीउ बन्न ३ महिना लाग्छ । बनेको बीउ इपिडिडाइमिसमा जम्मा भएर बस्छ । जब सम्पर्क हुन्छ, विर्य लिंगबाट निस्किन्छ । पुरुषको बीउ बन्ने ठाउँमा समस्या हुन सक्छ । हाइड्रोसिल र हर्नियाको बिरामी भएर समस्या हुन सक्छ । विर्य आउने बाटो बन्द भएर, बाटो आउँदा पछाडिपट्टि पिसाबमा किरा जम्मा हुन सक्छ । माथिबाट आउने हर्मोनको समस्या हुन सक्छ । यो पुरुषको बीउ हेरेर थाहा पाइन्छ । हर्मोनको ३÷४ वटा जाँच गराउनु पर्दछ । केही समस्या छ कि छैन भनेर अल्ट्रासाउण्ड गराउनु पर्दछ । पुरुषको उपचार गर्न लामो समय लाग्न सक्छ । उसको बीउ बाहिर निकालेर छानेर महिलाको पाठेघरमा राख्न सकिन्छ । महिलाको पाठेघरको मुखमा भएको विर्यलाई एन्टीबडीले मार्ने काम गर्छ । कतिपय महिलाको पाठेघरको मुखको बनावटमा भएको समस्याले गर्दा पनि बच्चा नबस्ने हुन सक्छ । बच्चा बस्ने पाठेघरको भित्तामा मासु पलाएको छ र पाठेघर धेरै सफा गरिएको छ भने पनि पाठेघरको बीचमा जालो बनाएर टाँसिएको हुन्छ । अण्ड बन्नलाई समस्या भइरहेको छ र अण्ड फुटिरहेको छैन भने पनि महिलामा बच्चा बस्दैन । एफएफएच हर्मोनलाई हेर्ने थाइराइड हर्मोन र प्रोल्याक्टिभ हर्मोन बढी छ भने बच्चा बस्न दिँदैन । महिलाको पाठेघरको बनावट ठिक छ वा छैन, अण्डा बनिरहेको छ वा छैन हेर्छौं । नली खुल्ला छ छैन, बच्चा बस्ने ठाउँ कस्तो भनेर हेर्ने गर्छौं । अण्डा बनेर पाकेर फुट्नु पर्छ । बीउ राम्रो हुनु पर्छ । निसन्तानपनको उपचार गर्दा हर्मोनको जाँच गर्नुपर्ने भएकोले महँगो पनि हुन्छ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
निसन्तानपनसम्बन्धी समस्याले जरा गाडिरहेको छ । पुरुषहरू वैदेशिक रोजगारीमा जाने र २÷३ महिनाको लागि घर आउँछन् । २÷३ महिनामा नै बच्चा बस्दैन । लामो समय गाडीमा बसेर काम गर्नुहुन्छ र तातोमा बसिरहनुपर्ने अवस्था छ भने पनि बच्चा बस्न सक्दैन । केमिकल प्रयोग हुने फ्याक्ट्रीहरूमा काम गरिरहेका छन् भने पनि विर्यको गुणस्तर घटेको हुन्छ । धेरै तातो पानीमा नुहाउने, सहनाबाथ गर्ने बानी भएमा, जंकफुडहरू खाएमा, चुरोट, रक्सी, गुट्खा, खैनी, सुर्ती खाएमा विर्य कमजोर हुन्छ । कुनै पनि दम्पतिले बच्चा राख्दै हुनुहुन्छ भने खानपिनमा सागसब्जी, भिटामिन ई बढी भएको खानेकुरा खानु पर्छ । जंकफुडहरू खान बन्द गर्नु पर्छ । बिहान बेलुका आधा घण्टा हिड्नु पर्छ । ७ देखि ८ घण्टासम्म राम्रो सुत्नु पर्छ । चुरोट, रक्सी, गुट्खा, खैनी र सुर्ती सेवन बन्द गर्नु पर्छ र तनाव कम गर्नु पर्दछ । यसो गरेमा बच्चा स्वस्थ्य हुन्छ ।