प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्ना पारिवारिक सदस्य तथा नातेदारलाई सचिवालयमा नियुक्त गरेको भनाइपछि जेनजी युवा अगुवाहरूले प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराउने तयारी गरेका छन्।
द काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) का प्रतिनिधिहरू आज नै प्रधानमन्त्री कार्कीलाई भेटेर औपचारिक रूपमा ध्यानाकर्षण गराउन लागेका हुन्। समूहका सदस्य अनिल बानियाँले “आज प्रधानमन्त्रीलाई भेट्न जाँदैछौँ, तर १० बजे जाने कि पछि भन्ने टुंगो लागिसकेको छैन,” भन्दै आजकै दिन भेट हुने स्पष्ट पारे।
अनलाइनखबरले सार्वजनिक गरेको सूचनाअनुसार, प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव र नातेदारीमा पर्ने कमला श्रेष्ठलाई पनि स्वकीय सहसचिवमा नियुक्त गराएका थिए। दुवैको नियुक्ति असोज २ गते एकैदिन भएको बताइएको छ।
यस्तै, प्रशासन सहायक (नासु सरह) पदमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि सोही दिन नियुक्त भएका थिए। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको करिब एक साताभित्रै यी सबै नियुक्ति गरिएको स्रोतले जानकारी दिएको छ।
यस घटनालाई लिएर जेनजी युवाहरूले प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने र उनले गराएका सबै नियुक्ति तत्काल खारेज गर्नुपर्ने माग उठाउँदै आएका छन्। सुदन गुरुङ समूहले पनि जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गरिएको भन्दै आपत्ति प्रकट गरेको छ।
समूहका सदस्य बानियाँले भने, “हामीले सुशासन र पारदर्शिता मागेका थियौँ, तर यस्तो कदमका बारे कल्पनै गरेका थिएनौँ।”