बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा वडा अध्यक्ष हुन् चयन गुरुङ । सशस्त्र माओवादी विद्रोहमार्फत् राजनीतिमा होमिएकी गुरुङ अनेक आरोहअवरोह र चुनौतीका चाङहरूलाई छिचोल्दै वडाको नेतृत्वमा पुगेकी हुन् । हक्की स्वभावकी उनी समाजको सकारात्मक रुपान्तरणका लागि पुरुषको तुलनामा महिलाको नेतृत्व प्रभावकारी हुनेमा स्पष्ट छिन् । राजनीतिमा लागेका महिलाहरूलाई महिला भएकै कारण आउने अवरोध, महिलाको सार्थक सहभागिता, अवसरलगायतका सरोकारमा केन्द्रित रहेर मध्य नेपालका सम्पादक कविता खड्काले वडा अध्यक्ष गुरुङसँग गरेको कुराकानी ः
तपाईंको राजनीतिक यात्रा कसरी शुरू भयो ?
बि.सं. २०५८ सालमा माओवादी जनयुद्ध चर्किरहेको थियो । त्यो समयमा गाउँका सबैको सोच माओवादी जनयुद्धलाई सफल पार्नुपर्छ भन्ने थियो । सामाजिक न्याय, स्वतन्त्रताको लागि, विभेदको निम्ति विद्रोहको नाराले छोएको थियो । रुकुम र रोल्पा माओवादीको केन्द्र हो । कांग्रेस र राजावादी भन्ने त्यहाँ थिएन । हामीसँग खानेकुराको कमी हुँदा एउटा आलु भए पनि चारजनालाई चार भाग बनाएर खानु पर्छ, जनयुद्धलाई सफल पार्नु पर्छ भन्ने थियो । विभेदको अन्त्य गर्नु पर्छ । महिलामाथि जकेडिएको विभेदको अन्त्य हुनु पर्छ भन्ने कुरा थियो । सडकमा लाग्ने नाराहरूले मन छुन्थे । माओवादीका सांस्कृतिक कार्यक्रम र सडक नाटकहरूले हामीलाई झक्झकाउँथे । जसको कारणले १० वर्षे जनयुद्ध सफल भएको छ । महिलाहरू स्वतन्त्र भएका छौं । देशमा लोकतन्त्र ल्याउन सफल भएका हौं । आज १ जना दलित महिला, २ जना अन्य महिला र वडा अध्यक्ष हुने अधिकार जनयुद्धको कारण नै पाएका हांै ।
लोकतन्त्रमा महिलाले चाहेजस्तो अधिकार पाएका छन् त ?
लोकतन्त्र आए पनि परिपक्व भएन । महिलाले सक्दैनन् भन्ने पितृसत्तात्मक सोच आज पनि कायमै छ । १० वर्षे जनयुद्धपछि मानिसहरूलाई सत्ताको मोह लाग्यो । कार्यान्वयन त भए पनि सोचेजस्तो भएन । मधेशमा छुवाछुत ठूलो चुनौतीको रुप छ । बारा जिल्लामा महिला वडा अध्यक्ष भएर काम गरिरहदाँ महिलाहरूको अवस्था नाजुक छ । बहुविवाह र घरेलु हिंसा अत्याधिक छ । कुनै न कुनै बाहाना पारी दिनदहाडै महिलामाथि हिंसा भएर महिला मर्न बाध्य छन् ।
वडा अध्यक्ष बन्ने योजना कसरी बन्यो ?
सामाजिक रुपमा काम गर्दै आएकीे थिएँ । पार्टीगत रुपमा त्यति सक्रिय थिइनँ । व्यक्तिगत रुपमा कसरी गर्न सकिन्छ ? आफूसँग भएका कुरा आफैंले गर्ने र आफूसँग नभएको कुरा सहयोग मागेर भए पनि सामाजिक काम गर्दै आएको थिएँ । अहिले काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ । जन्मेदेखि नमरुञ्जेलसम्म गर्नु पर्छ । हाम्रो वडा नं. १४ मा मुस्लिम, घागड, बाहुन, क्षेत्री, चौधरी, मुसहर, मगर, गुरुङ सबै जातिले भरिएको फूलबारी छ । सानो उमेरमा महिलाहरू विधवा भएका छन् । पुरुषहरू दैनिक मदिरा सेवन गर्ने, खाना नखाने, उपचार नगर्ने र लडेर मर्ने कारणले महिला दिदीबहिनीहरू विधुवा भएका थिए । बच्चाहरू साना–साना थिए । २० जना बालबालिकालाई व्यक्तिगततर्फबाट पढाइरहेको थिएँ । ती महिलाहरूलाई सामाजिक रुपमा विभेद भएको अवस्थामा चयन गुरुङ भन्थे । महिला दिदीबहिनीको वडा अध्यक्ष बनाउने मागलाई पार्टीमा राखेँ । पार्टीले सर्वसहमत टीकट दियो ।
पारिवारिक सहयोग कस्तो थियो ?
पहिला घरभित्रबाट बाहिर निस्कन कठिनाइ थियो । केही गर्छु भन्दा चुनौतीको सामना गर्नु पर्छ । चुनौती नै चुनौतीले भरिएको जिन्दगीमा सामना गर्न सकिएन भने त्यो व्यक्ति अगाडि बढ्न सक्दैन । चुनौती सामना गर्ने क्षमता राखेँ र अगाडि बढँे । घरपरिवारलाई पनि मेरो सामाजिक काम गर्ने इच्छा मान्न बाध्य पारँे । वडा अध्यक्षमा लडेर गठबन्धनलाई ५५१ मत बढी ल्याएर जितेँ ।
चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा जाँदा के भन्थे ?
चुनावी एजेण्डा लिएर जाँदा केही टोलहरूमा विपक्षी पार्टीले मलाई छिर्न पनि दिएनन् । तपाई भोट माग्न नआउनुस् हामी भोट दिन्छौं, तपार्इं जित्नुभयो भन्ने सोच्नुस् भन्थे । तर, टोलमा भोटरहरूलाई त्यसलाई भोट दिइस् भने भनेर धम्क्याउने गर्थे । चयन गुरुङ पारदर्शी गर्छ । चयन गुरुङ विपन्न वर्गका पक्षमा, महिलाको पक्षमा, अपाङ्गको पक्षमा, दलित र पिछडिएको वर्गको पक्षमा जनताको पक्षमा हुन्छ । मतदाताले तपाईंको जीत सुनिश्चित छ, भोट तपाईंलाई दिन्छौं भन्थे । त्यो ठाउँबाट एकछापे भोट आयो । यसरी मैले जितेँ ।
चुनावमा त धेरै खर्च गर्नु पर्छ भनिन्छ नि ?
चुनावी प्रचारप्रसारमा कुनै व्यक्तिलाई दिइनँ । झण्डा बनाउँदा, जादाँ खाजा, नास्ता, चुनावी प्रतिस्पर्धा गर्दा गाडी र तेलमा अलि बढी खर्च भयो । बाँकी जनताको हातमा थियो । जनता नै जनार्दन हो । नेताले भुइँ छोड्छन् । जति माथि गए पनि भुइँ छोड्नु हुँदैन । भुइँमा बस्नु पर्छ । भुइँमा टेकेर जनचाहना अनुसारको काम गर्नु पर्छ । अहिले जनताको चाहनाअनुसार काम गरिरहेको छु । वडामा सीमित बजेटमात्र हुन्छ । यो विषयमा उपमहानगरपालिकामा पहल गरिरहेकोे छु । महिला, अपाङ्ग र बालबालिकाको हितमा काम भइरहेको छैन भनेर खबरदारी गर्ने काम गर्छु । यो संविधानले दिएको अधिकारको कुरालाई वञ्चित गर्न पाउनुहुन्न भनेर आवाज उठाइरहेको छु । मलाई एक्लो देखेर होला, सुनुवाइ भइरहेको छैन ।
वडा अध्यक्षको कुर्सीमा बसेको दिन कस्तो अनुभव भयो ?
महिला दिदीबहिनीहरू मैले जितेको दिन सबै रुनुभयो । म जितोस् भनेर दिदीबहिनीहरूले दश ठाउँमा भाकल गनभएको थियो । काँधमा राखेर नाँचेर दाजुभाई र दिदीबहिनीहरू नाचेको भिडियो पनि छँदैछ । बुढापाकादेखि बच्चासम्म सबैको दिदी भएँ ।
समाजसेवा र राजनीतिक नेतृत्वमा के फरक पाउनुभयो ?
प्रत्यक्ष जनतासँग जोडिने भनेको वडा अध्यक्ष नै हो । ५ वर्षको लागि चुनौती नै चुनौतीले भरिएको भनेको वडा अध्यक्ष नै हो । जनताले चाहनुभयो भने फेरि पनि आउने, चाहनुभएन भने फेरिएर अर्को आउने हो । हिजोको दिनमा सामाजिक कामका लागि व्यक्तिगत रुपमा हात फैलाउने र आजको दिनमा फरक छ । आजको दिनमा स्वयम् कार्यान्वयन गर्ने ठाउँमा छु भने हिजो हात फैलाउने ठाउँमा थिए । गरिब विपन्न वर्गको घरमा सुत्केरी हुदाँ एउटा भाले खाने पैसा समेत हुँदैन । उनीहरूको लागि ५ हजार सुत्केरी स्याहार खर्च वडाको बजेटबाट वडाको सम्पूर्ण महिलाको लागि छुट्याएको छु । रेडक्रस सोसाइटीसँग समन्वय गरेर सुत्केरी महिलाहरूलाई चाहिने रगत निःशुल्क उपलब्ध गराउने सुविधा मिलाएको छु । महिला दिदीबहिनीहरू नै आयआर्जनको लागि गाईभैंसीको दूध दुहुनेदेखि लिएर भकारो सोर्ने, घाँसपात गर्ने काम गर्नु हुन्छ । तर, महिलाको हातमा एक रुपैयाँ पर्दैनथ्यो । महिलाको आयआर्जनका लागि एक लीटर दूधमा डेढ रुपैयाँ महिला दिदीबहिनीको हातमा जाने व्यवस्था गरिदिएको छु । महिला दिदीबहिनीहरूको परिश्रमको पैसाले व्यक्तिगत सिन्दुर, टीका र गाजल किन्न पनि कसैसँग माग्नु नपरोस् । डेरीसँग समन्वय गरेर महिलाको नाममा जम्मा हुने व्यवस्था मिलाएको छु ।
वडामा आएका समस्यालाई कसरी समाधान गर्नु हुन्छ ?
फिल्डमा गएर भझगडाका कुराहरू प्रत्यक्ष नदेखेसम्म निर्णय गर्दैनौं । हामी जनताको हरेक दुःख सुखमा हुन्छौं । राष्ट्रिय निकुञ्जनजिक भएकोले अहिले हात्तीको आतंक बढेको छ । हात्तीबाट जोगाउन ठूलो चुनौती छ । जंगलको छेउछेउमा १३ फिट अग्लो टावर लाइट हालेको छु ।
महिला भएकै कारण अपमानित भएको अनुभव छ कि छैन ?
चुनावको समयमा काठमाडौं त देखेको छैन, चुरे त काटेको छैन । विकास निर्माण योजनाका कुराहरू कल्पना नगर्नुस् । नेपाली त शुद्ध बोल्न जान्दिन । लुङ्गी लगाएर हिड्छे भनेर प्रतिपक्षका केही पुरुष व्यक्तिहरूले भन्थे । मेरो श्रीमान् बाहिर बस्नु हुन्छ । आएपछि गाउँ नडुल्ने, बिदामा आउँदा परिवारसँग समय बिताउने, बिदा सकिएपछि फर्किने गर्नुहुन्थ्यो । आफ्नो टोलबाहेक अरूसँग खासै उहाँको चिनजान थिएन । चयन गरुङको श्रीमान््ले अर्को विवाह गर्यो रे, सम्बन्ध विच्छेदको पैसाले चुनाव लड्दै भने । महिलालाई आरोप लगाउन र खसाउन पुरुषहरू पछि पर्दैनन् । महिला हार्दैनन्, हराइएको हुन्छ । नानीको एसईई भएर श्रीमान् काठमाडौंमा थिए । विपक्षीले चलाएको हल्लाको विषयमा श्रीमान्लाई भनेर गाउँमा बोलाएँ । नानीको एसईई सकेर आएपछि मेरो श्रीमान्लाई नै मेरो श्रीमान् हो हजुर सम्बन्ध विच्छेद भएको छैन भनेर चिनाउन बाध्य भएँ । मैले जित्नु छ भन्ने थियो, जितेर पनि देखाए । काम पनि त्यहीअनुसार गरेको छु । मेरो श्रीमान्ले राजनीतिमा चासो पनि लिनुहुन्न । भन्नेलाई भन्न देउन् छोडिदेऊ भन्नुभयो । तर, मलाई चुनौतीको विषय भयो । आगो सल्काउन गाह्रो हुन्छ । सल्किएपछि बल्छ । नेतृत्व र सामाजिक काम गर्न महिलाहरूलाई चुनौती छ । पहिला साइकलमा ३ वटा बच्चा लिएर स्कुल पु¥याउन जान्थेँ । कच्ची बाटो थियो । गाडी समयमा आउँदैनथ्यो । कसैको मोटरसाइकलमा लिफ्ट मागेर गयो भने फलानो व्यक्तिसँग कहाँ गएको ? यसको निको चाल त छैन कि क्याहो ? भन्थे । पैसा भएपछि अर्काको चढ्नु हँुदैन । परनिर्भर भएर हुँदैन भनेर ऋण निकालेर मोटरसाइकल किनेँ । धादिङ, रुकुम, प्युठान, दाङ, रोल्पा, होलेरी मोटरसाइकलमा घुमेँ । मानिसलाई चुनौती आएपछि चुनौतीको सामना गर्न सकिएन भने पछि परिन्छ । यो मेरो चुनौती हो । म आफै चढेर जानु पर्छ । मेरो बुढो बाहिर छन् । मैले सामाजिक काममा गर्दैछु । भोलि मलाई औंला उठाएर घरबार नबिग्रियोस् । मेरो इमान्दारीमाथि कसैले औंला उठाउँछ भने मैले प्रमाणित गरेर देखाउनु पर्छ भनेर बाइक चलाएर संसार घुम्न लागेँ । महिलालाई बाहिर निस्किन पापड बेल्नु पर्छ । अहिले पनि महिलालाई बाहिर निस्कन गाह्रो नै छ । महिला पहाडबीचबाट फुटेर निस्किएको पिपलको बोट हो । चानचुने संघर्षले आएको होइन । भलै महिला बोल्दैनन्, महिलाको संघर्षलाई मापन नगरे हुन्छ । महिला भएकै कारण कसैले हामीलाई चुनौती नदिए हुन्छ । माइतमा हुदाँ पनि छोरालाई खुल्ला छोडिन्छ भने छोरी कहाँ जाँदैछस् सोधिन्छ । छोरालाई कहिले सोधिदैन । छोरी मानिसले यस्तो कुरा बोल्नु हँुदैन । यस्तो कुरा लगाउनु हँुदैन । खानु हँुदैन । कस्तो संस्कारबाट हुर्किएको छौं । कस्तो संस्कार सिकाउँदै छौं ।
समाजमा प्रतिस्पर्धा गर्न कत्तिको सजिलो छ ?
विभेदपूर्ण समाजमा प्रतिस्पर्धा गर्न अझै सम्भव छैन । समाजमा जेलिएर बसेको जरा छ । अझै पनि फुकाउन समय लाग्छ । महिला पत्रकार होओस्, महिला वडा अध्यक्ष, महिला कर्मचारी जे सुकै होस् । अझै पनि कुनै न कुनै पक्षबाट हिंसामा परिरहेका हुन्छ । चाहे हेरेर होओस्, होच्याएर होओस्, घोच्याएर होओस् । ममा केटा मानिससरह मोटरसाइकल चलाउन सक्छु । ५० केजीको बोरा काँधमा हालेर बोक्न सक्छु । नेतृत्व गरिरहेकी छु ।
महिलाको शत्रु महिला नै हुन्छन् भन्ने भनाइ छ नि, हो ?
महिलाको शत्रु महिला नै हुन्छ भन्ने कुरा सत्य हो । किनभने महिला कोटामा रहिरहन्छ । खुला प्रतिस्पर्धामा जान चाहँदैनन् । मजत्तिको मानिस किन खुलामा जान सक्दिनँ । हार र जीत होला फरक कुरा हो । जितेरभन्दा हारेर धेरै कुरा सिक्ने हो । हारेर सिक्नु पर्छ । धुलो टक्टक्याएर हारबाट माथि उठ्नु पर्छ । हारेको भए मलाई पनि चुनौतीको कुरा हुन्थ्यो । जीतले मेरो अगाडिको बाटो खुल्यो ।
नेतृत्व गरिरहँदा कस्तो अनुभव भएको छ ?
आफन्त वा पराई जो होओस्, पदको पुजारी हुन्छन् । बलेको आगो सबैले ताप्छन् । निभेको आगो कसैले फुक्न चाहँदैन । म आफ्नो घरबाट विद्रोह गरेर समाजिक काम गर्न निस्किएको मानिस हो । मेरो इच्छा, सपना र आकांक्षा समाज परिवर्तन गर्नुमा छ । समाजको लागि केही गर्नु पर्छ । केही गर्नको लागि जन्मेको हो । केही वर्ष म पनि पीडित थिएँ । तर, तिनकोे साथमा म हुनु पर्छ । तिनी पीडित हुनुहुँदैन । तिनको आँशु झर्नु हँुदैन । तिनी भोको, नाङ्गो हुनु हुँदैन । शरीरको कपडा पनि खोलेर लगाइदिन्थेँ । मैले लगाइरहेको चप्पल पनि उसको गोडा खाली हुन्छ भनेर खोलेर दिन्थँे । खाना खाइरहदाँ फर्केर मलाई हेर्यो भने मैले खाएको बाँडेर खान्थेँ । कहिलेकाहिँ थकान महशुस हुन्छ । आफ्नो कुरा कसलाई सुनाउँ हुन्छ । मेरो आफ्नो रहर र जिम्मेवारी हो । परिवारले भन्ने पैसा कमाओस् । घरमा बसिदिओस् । घर बसेर पुग्छ भने किन काम गर्नुप¥यो । दुनियाँको टर्चर किन सहनु प¥यो । म छोड्नको लागि लडेको होइन । कसैको आँशु पुछ्नको लागि लडेको हो । कसैको हाँसो बन्न, पीडालाई हल्का गर्न आएको हो । तिनीको दुःख, पीडालाई हाँसोमा बदल्नु छ । मलाई जतिसुकै पीडा भए पनि तपाईंको साथ चाहियो । जतिसुकै पीडा भए पनि कसैसँग शेयर गर्दिनँ । यो मेरो नितान्त विचार हो । मेरो विचार बोकिदेउन भन्न त मिल्दैन नि । मलाई आइपरेको चुनौती म आफैले बोक्ने हो । म एक्लैले सामना गर्ने हो । त्यो चुनौती सामना गरेर अगाडि बढ्नु पर्छ ।
तपाईंले ल्याएका एजेण्डामा उपमहानगरको मूल नेतृत्वको समर्थन कस्तो छ ?
मैले ल्याएको एजेण्डालाई कार्यान्वयन गर्दैनन् । गर्भवती भएका बेला धेरै दिदीबहिनीहरूले एक्सरे गर्न जाँदैनन् । सबैसँग तिर्न सक्ने हैसियत पनि छैन । सुत्केरी अवस्थामा ३ वटा एक्सरे गर्नुपर्ला । मैले १ वर्षदेखि उठाएको एजेण्डा एक्सरेको लागि हो । पैसा नभएको कारण धेरैको अकालमा ज्यान गएको छ । हामी कुनै न कुनै आमाको कोखबाट जन्मेको हो, त्यसको संरक्षण गरौं । जनताले हाम्रो हेरचाह गर, हाम्रो आवाज सुन, हाम्रो दुःख पीडा सबै लिउ भनेर पठाएको हो नि । बरू, पूर्वाधार कटौति गर, मानिस बचाऊँ । भौतिक संरचना ठूलो बनाएरमात्र हुँदैन । त्यो भौतिक संरचना बनेको हेर्ने आमा र बच्चा नभए के अर्थ त्यसको । मलाई ठूलो काम गर्नु नै छैन । आधारभुत तहको समस्या समाधान गर्नु छ । मेरो वडाका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको जाँचको लागि व्यवस्था मिलाएको छु । मेयर र उपमेयर दवै पुरुष भएकाले महिलाको पीडा नभोगेर पनि योजना ल्याउन नसकेको होला । संघर्ष गरेर आएका महिलाहरू कम्तीमा ७ जना नेतृत्व तहमा पुगे भने पालिकाको विकास र परिवर्तन सम्भव छ । बारम्बार मेरो लडाईं बालबालिका, अपाङ्ग, दलित र जेष्ठ नागरिकको संरक्षणका लागि हो । यीनलाई संरक्षण चाहिएको छ । राजनीतिमा कोटा होइन, संरक्षण र प्रबद्र्धन चाहिएको छ । मैले वडामा १९ करोड रुपैयाँभन्दा माथिको काम गरिसकेकी छु ।
यत्तिको काम गर्न कसरी सम्भव भयो ?
प्रदेश र केन्द्रमा धाएँ । आफ्नो पालिकासँग लडेँ । विभिन्न धर्म र संस्कृति सबैलाई माला बनाएको छु । केही महिलाले यही उठ्नुस् । कसैले मेयर र उपमेयरमा लड्नुस् भन्छन् । हुर्किँदै गरेको मेरो छोराछोरीलाई र घरलाई समय दिन सक्दिनँ । मेरो सम्पत्ति भनेको नै मेरो छोराछोरी र जनता हुन् । समाजलाई राम्रो गर्ने, परिवर्तन गर्ने र वडाको जनताको सुःख र समृद्धि नै सम्पत्ति हो । म जनताको घरमा नै खान्छु ।
महिलाहरू नेतृत्वमा के चाहन्छन् ?
महिलालाई नेतृत्व दिएपछि पारदर्शी र सुशासन हुन्छ । महिलाले घर सम्हाल्छन् । घर सफल बनाउँछन् । घर असफल भए हामी सफल हुन सक्दैनौं । महिलाले नेतृत्व गरेका संघसंस्था र महिलाले गरेका रिपोर्टिङ्ग पारदर्शी हुन्छ । महिला झूट बोल्न हिच्किच्याउँछन् । महिलाले गलत गर्नुभन्दा अगाडि हजार पकट सोच्छन् । मेरो आमाबुबा र घरपरिवार छ मैले गलत गरे भने भोलि टेक्ने ठाउँ हँुदैन । गलत काम गर्नु हुँदैन भनेर १० पटक सोच्छ । प्रत्यक्ष कार्यकारीमा संविधानले नै तोकेको दिइरहेको छ । मेयर, वडा अध्यक्षहरूमा महिलालाई दिएमा परिवर्तन हुन्छ । २४ वटा वडामा महिलाले नेतृत्व गरेको र पुरुषले नेतृत्व गरेका वडामा फरक देख्नुहुन्छ । मेरो पछाडि महिलाको लर्को हुन्छ । हरेक काममा चौकी अदालत धाउँदाखेरि महिलालाई पीडा हुन्छ । महिलाले सबै कुरा पुरुष वडा अध्यक्षलाई भन्न सक्दैनन् । श्रीमान र श्रीमतिबीचको कुरा हुन्छ । यौनको कुरा नमिलेर पनि पीडित भएका हुन्छन् । बारा र पर्साका महिला पनि समस्या लिएर आउनुहुन्छ । महिलाले तेतृत्व गरेको ठाउँमा महिला सक्रिय हुन्छ । उपभोक्ता समितिको महिला अध्यक्ष छन् । महिलाले बाटो र भवन बनाएका छन् ।
भविष्यको राजनीतिक योजना के छ ?
जितपुर–सिमरा उपमहानगरपालिकाको महिलाहरूको वस्तु स्थिति बुझ्ने, उनीहरूको जनचाहना अनुसार बाधा अड्चन फुकाउने र उनीहरूको हरेक सुख दुःखमा उभिने अवसर पाए भने अझै नेतृत्व गर्छु । उहाँहरूको चाहनाअनुसार नै अगाडि बढ्छु ।