बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजीबीच बुधबारको झडपले चर्किएको तनाब अन्ततः वार्ताको बाटो लाग्ने संकेत देखिएको छ। मुख्य आरोपित अरविन्द साह पक्राउ परेपछि जेनजी समूह वार्तामा बस्न तयार भएर जिल्ला सुरक्षा समिति र मधेस जेनजी समूहबीच पथलैयास्थित सशस्त्र प्रहरी कार्यालयमा वार्ता सुरू भएको हो।
जेनजीका अगुवा कपिल खरेलका अनुसार वार्तामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित जिल्ला सुरक्षा समितिका सदस्यहरू सहभागी छन्।
बिहीबार नै वार्ता बोलाए पनि साह पक्राउ नहुँदासम्म नबस्ने अडान लिएर जेनजी समूह टस–मस भएको थिएन। तर, प्रहरीद्वारा राति नै साह पक्राउ परेपछि वार्ता सुचारु भएको खरेलले पुष्टि गरे।
यसअघि, तनाब नियन्त्रणका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको नेतृत्वमा सुदन गुरूङ, शिव यादवलगायतको टिम काठमाडौंबाट जनकपुर पुगेको थियो। उनीहरूले बिहीबार राति सिमरामा आन्दोलनरत जेनजीहरूसँग संवाद गर्दै वार्ताको वातावरण तयार गरेका थिए।
खरेलले भने, “हामीले यहाँ वार्ता सुरू गरेका छौँ। उहाँहरू (गुरूङ–यादव टिम) बाटोमै हुनुहुन्छ। हामी कुराकानी अघि बढाउँछौँ, उहाँहरू पछि जोडिनुहुन्छ।”
बुधबारको झडपपछि सिमरामा कर्फ्यू लगाउनुपरेको थियो। बिहीबार पनि तनाव कायम रहँदा प्रहरी र जेनजीबीच भिडन्त हुँदा हवाई फायर र अश्रुग्यास चलाउनुपर् यो। केही प्रहरी र जेनजी युवा घाइते भए।
जेनजीले बुधबारको घटनामा आफूहरूमाथि कुटपिट गर्ने सात जनाविरुद्ध जाहेरी दिएका छन्। तीमध्ये दुईजना बिहीबार पक्राउ परे पनि मुख्य व्यक्ति साह पक्राउ नपरेको भन्दै जेनजीले प्रदर्शन र आवागमन अवरुद्ध गरेका थिए।