बाराको सिमरामा बढ्दै गएको तनावप्रति गम्भीर चासो प्रकट गर्दै नागरिक समूहले सरकार, जेनजी समूह र राजनीतिक दल—तीनै पक्षलाई तत्काल संयमित हुन आग्रह गरेको छ । समूहले जारी गरेको विज्ञप्तिमा पछिल्ला असजिला गतिविधिहरूले देशलाई अनावश्यक राजनीतिक संकटतर्फ धकेल्ने संकेत स्पष्ट देखिएको चेतावनी दिइएको छ ।
नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारी भइरहँदा देखिएको अराजनीतिक गतिविधिले समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल असर पार्न थालेको उल्लेख छ ।
सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा भएको भिडन्त, कर्फ्यू, संरचना क्षति र दुवै पक्षका उत्तेजनात्मक व्यवहारले सुरक्षा वातावरण झनै जटिल बन्दै गएको समूहको भनाइ छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समूह वा आन्दोलनबाट संवैधानिक हकमाथि हस्तक्षेप स्वीकार्य हुँदैन । जेनजीको नाममा दलविशेषलाई लक्षित गरिएका निषेधात्मक कदम लोकतान्त्रिक प्रतिस्पर्धामाथिको प्रहार हुन् । प्रतिवादका नाममा दलहरूले तनाव बढाउने काम गरे फागुन २१ को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कठिन हुन्छ ।’
समूहले शान्तिपूर्ण निर्वाचन हुन नसके मुलुक फेरि राजनीतिक शून्यतामा जान सक्ने र त्यसको प्रतिकूल प्रभाव सबैले भोग्नुपर्ने चेतावनी दिएको छ ।
सरकार, दल र जेनजी युवालाई शान्ति–सुव्यवस्था भंग हुने तथा चुनावी वातावरण बिग्रिने कुनै कदम नचाल्न अनुरोध गर्दै नागरिक समूहले संवाद र संवैधानिक मार्गमै समाधान खोज्न जोड दिएको छ ।
चुनावी समय भएकाले राजनीतिक दलहरू जनतासँग सक्रिय रहन स्वाभाविक भए पनि उक्साहट, भिडन्त र तनाव सिर्जना गर्ने कार्यबाट टाढा रहनुपर्ने समूहको सुझाव छ । जेनजी युवाहरूलाई पनि संविधानको मर्यादा, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिबाट नहट्न आग्रह गरिएको छ ।
भदौ २३–२४ को आन्दोलनले बनाएको सकारात्मक छवि ‘बदलाको भावना र हिंसा’ ले नष्ट गर्न सक्ने चेतावनी दिँदै समूहले सरकारलाई पनि फागुन २१ मै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारीप्रति गम्भीर बन्न आह्वान गरेको छ ।