इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ ।
विपिनको शव बोकेको फ्लाई दुबईको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । विमानस्थलमा शव अवतरणपछि उनलाई श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि शव धनगढी हुँदै कञ्चनपुरको भिमदत्तनगरस्थित घरमा लगिने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री, मन्त्रीहरू र मन्त्रालयका उच्च अधिकारीहरू विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न आज दिउँसो त्रिभुवन विमानस्थल पुग्नेछन् ।
कञ्चनपुरमै विपिनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए । त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो ।
गत असोज २७ गते इजरायली अधिकारीहरूले विपिनको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेका थिए । इजरायल–हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।
डीएनए परीक्षण र फरेन्सिक जाँचबाट उक्त शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । फरेन्सिक रिपोर्टअनुसार विपिनको अपहरण भएताकै मृत्यु भएको पाइएको छ ।
नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरियन विमानस्थलमा विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको थियो ।