इजरायलमा हमासद्वारा अपहरण गरी लगिएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि भएको छ। अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले मंगलबार विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेपछि उनको नेपाल पठाउने प्रक्रिया अघि बढेको छ।
हाल शव इजरायलको सैनिक अस्पतालमा राखिएको दूतावासले जनाएको छ। इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले बुझाएको शव विपिनकै हो कि भन्ने पुष्टि गर्न डिएनए परीक्षण हुँदैछ। रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ। त्यसपछि मात्रै नेपाल पठाउने तयारी सुरु हुनेछ,” उनले बताए।
राजदूत पण्डितका अनुसार, इजरायली सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाउने जिम्मा लिनेछ। तर सम्पूर्ण औपचारिकता पूरा गर्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ।
कञ्चनपुरका २२ वर्षीय विपिन जोशी कृषि अध्ययनका क्रममा इजरायल पुगेका थिए। गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा उनी बन्धक बनेका थिए। सो दिनै १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमास लडाकुहरूले आफूसँगै लगेको थिए।
विपिनको अवस्थाबारे एक वर्षभन्दा लामो समयसम्म अनिश्चितता रहेको थियो। तर इजरायल र हमासबीच भएको युद्धविरामपछि, मंगलबार इजरायली सेनाले विपिनको मृत्यु पुष्टि गर्दै औपचारिक जानकारी दिएको हो।
विपिनको मृत्युले इजरायलमा अध्ययनरत नेपाली विद्यार्थी र उनीहरूको परिवारबीच त्रास र पीडाको घाउ पुनः ताजा बनाएको छ।
नेपाल सरकारले भने विपिनको परिवारलाई सहयोग र क्षतिपूर्तिको व्यवस्था गर्ने तयारीमा रहेको बताएको छ।