इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ ।
इसरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार केहीबेरअघि आइडिएफले विपिनको परिवार र दूतावासका प्रतिनिधिहरूसँग भिडियो कन्फरेन्समार्फत ‘हि इज नो मोर’ भन्दै जानकारी दिएको हो ।
‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडियो कुराकानी गरेर “वि ह्याभ लस्ट हिम” भनेको हो,’ राजदूत पण्डितले भने, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको हो ।’
भिडियो संवादमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिकाबाट सहभागी भएका थिए । नेपालस्थित परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित तथा इसराइली अधिकारीहरू समेत सो कुराकानीमा उपस्थित थिए ।
राजदूतका अनुसार आइडिएफका अधिकारीहरूले केही जीवित बन्धकहरू आजै हमासले छोड्ने र मृतकहरूमध्ये कतिपयको शव अझै फेला नपरेको जानकारी दिएका छन् ।
तर, परराष्ट्र मन्त्रालयले भने आइडिएफको यो अभिव्यक्ति “प्रारम्भिक आकलन” मात्र हुन सक्ने जनाएको छ ।
‘आइडिएफको पनि आकलन मात्र हो,’ मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अन्तिम पुष्टि नभएसम्म हामी विपिन जोशी सकुशल रिहा हुनुहुन्छ भन्ने आशा राखिरहेका छौं ।’