देशका तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरू र तिनका परिवारजनको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उनीहरूका आफन्त र पारिवारिक सदस्यहरूको सम्पत्ति विवरण संकलन गर्न थालेको हो।
विभागका एक स्रोतका अनुसार, नेताहरूका नाममा रहेको चल–अचल सम्पत्ति, शेयर स्वामित्व र आर्थिक कारोवारबारे सरोकारवाला निकायहरूलाई पत्राचार गरी विवरण मागिएको छ। “केही विवरण पहिले नै आइसकेका छन् भने केहीका लागि मंगलबार मात्र पत्र पठाइएको छ,” स्रोतले बतायो।
यसअघि विभागले यी नेताहरूको निवासमा स्थलगत निरीक्षण गरी आगजनीबाट क्षतिग्रस्त क्षेत्रको मुचुल्का बनाएको थियो। सो क्रममा भेटिएका जलेका नोट र कागजातको डिजिटल फरेन्सिक परीक्षणका लागि प्रहरीको ल्याबमा पठाइएको छ।
तीन नेतामाथि विभिन्न समयमा दर्ता भएका उजुरीहरूलाई आधार मानेर विभागले अनुसन्धान अघि बढाएको हो। ओलीमाथि गिरीबन्धु टि इस्टेट र गोकर्ण फरेष्ट रिसोर्टको नीतिगत निर्णयमा अनियमितता गरेको आरोप छ भने प्रचण्डमाथि नक्कली लडाकु प्रकरणमा आर्थिक लाभ लिएको दाबी गरिएको छ। कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजु देउवामाथि सार्वजनिक पदको दुरुपयोग गरी सम्पत्ति जोडेको आरोप छ।
विभागका एक अधिकारीले भने, “यी उजुरीहरूका आधारमा नेताहरू वा तिनका आफन्तले गैरकानूनी रुपमा सम्पत्ति आर्जन वा व्यवस्थापन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको हो। विस्तृत विवरण केही दिनभित्र स्पष्ट हुनेछ।”
विश्लेषकहरूको भनाइमा, प्रमुख दलका नेतामाथि सुरु भएको यो अनुसन्धान राजनीतिक रूपमा संवेदनशील विषय हो, तर यसले राज्यको शुद्ध शासनतर्फको प्रतिबद्धता देखाउने संकेत पनि दिन्छ।