जेनजी युवाको प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ६९७ कैदी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।
विभागका अनुसार मुलुकभर जेनजी प्रदर्शन चर्किएपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र ९ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५५३ बन्दी भागेका थिए। तीमध्ये ८ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी ८ हजार ८५१ बन्दी कारागार फर्किएका छन्। तर, अझै पनि ५ हजार ७९ कैदी र ६१८ बालबन्दी गरी ५ हजार ६९७ बन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिएका छन्।
गृह मन्त्रालयले असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म स्वेच्छाले कारागार फर्किन ‘अल्टिमेटम’ दिएको थियो। तर ठूलो संख्यामा कैदी अझै नफर्किएपछि सरकारले विशेष खोजी अभियान सञ्चालन गरेको छ।
सरकारले फरार कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन सुरक्षाकर्मीमार्फत नियन्त्रण र बुझाउने कार्य अघि बढाएको छ। साथै, गृह मन्त्रालयले सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षासंस्थाका प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ समेत गठन गरेको छ।
जेनजी प्रदर्शनको अवसरमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए।
त्यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६३ बालबन्दी भागेका थिए। सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। त्यस्तै नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको विभागले जनाएको छ।
कारागार कार्यालयहरूले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्किन सूचित गर्दै आएका छन्। सरकारको सूचनालाई अवज्ञा गर्ने फरार कैदीबन्दीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागको भनाइ छ।
हाल देशका ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन्। धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र पूर्वी रुकुममा भने हाल कारागार छैन।