प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल पुगेका छन्।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाउने उद्देश्यले संयुक्त राष्ट्रसंघसम्म मुद्दा लैजाने पहलअन्तर्गत इजरायली सरकारले उनीहरूलाई आमन्त्रण गरेको हो। सोही अनुसार उनीहरू सोमबार इजरायल प्रस्थान गरेका थिए।
तेलअविवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदारलगायतले उनीहरूलाई स्वागत गरेका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै विपिनकी आमा पद्माले आफू छोरोलाई लिन आएको बताउँदै सहयोगको अपील गरिन्। भावुक हुँदै उनले भनिन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। उहाँलाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुहोस्, सबैमा विनम्र अनुरोध छ।”
विपिनकी बहिनी पुष्पाले पनि आँसु झार्दै भनिन्, “मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन। उहाँलाई विनासित्ती नराख्नुस्। हामी उहाँलाई लिन नेपालबाट आएका हौं।”
भीमदत्त नगरपालिका–३ भासी, कञ्चनपुरका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुजमा गरेको आक्रमणपछि उनी सम्पर्कविहीन छन्। सो घटनामा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना बन्धक बनाइएका थिए। युद्धविरामको क्रममा केहीलाई मुक्त गरिए पनि विपिन अझै रिहा भएका छैनन्।
नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको भए पनि विपिनको अवस्था अज्ञात छ। इजरायली विदेश मन्त्रालयका अनुसार विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघको कार्यालयमा उपस्थित गराई विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउने तयारी छ। त्यसअघि उनीहरूलाई प्रधानमन्त्री, रक्षामन्त्री, सेना प्रमुख तथा हमासविरुद्धको कारबाहीमा खटिएका कमान्डरहरूसँग भेट गराइनेछ। साथै, विपिनलाई अपहरण गरिएको दक्षिण इजरायलको किबुजमा लगेर घटनाबारे जानकारी दिने कार्यक्रम पनि तय गरिएको छ।