नेपालमा कोरोना संक्रमीतको संख्या बढेसंगै नेपाल सरकारले लकडाउनको अवधिलाई थप गर्दै लगेको आज २ महिना बढी बितिसकेको छ । यो अवस्थामा दैनिकी ज्याला मजदुर गर्ने लगायत सबै व्यक्तिलाई समेत समस्या सृजना भएको छ । सबै भन्दा ठूलो समस्या आर्थिक अभाव बढेको छ । आम्दानीको स्रोत छैन तर खर्च बढेको छ जसको कारण घरमा कलहको वातावरण सृजना उत्पन्न हुन्छ भने मानिसहरु डिप्रेसनमा जाने संख्या पनि प्रबल देखिएको छ । अर्को भनेको घरमै बसेर खाईरहदा त्यसले हाम्रो शरीरलाई पनि असर गरिरहेको छ । यस्तो अवस्थामा हामी शारिरिक अभ्यास मेडिटेसन योग साधनाको माध्यम बाट हामी कसरी स्वास्थ्य र खुसी रहन सक्छौ भन्ने प्रश्नमा आधारीत रहेर आर्ट अफ लिभिङ्ग प्रशिक्षक सुधा कार्की थापा संग गरिएको कुराकानी ।
१) लकडाउनको समयलाई कसरी सदुपयोग गर्दै हुनुुहुन्छ ?
अरु समयमा भन्दा लकडाउनमा निकै ब्यस्त भएको छु । बिहानको ४ः३० देखि सुरुहुन्छ दिन मेरो । फ्रेस भएर आफूले मेडिटेसन गरि ६ बजे देखि अनलाईन योगा र साधना सुरु हुन्छ ७ बजे सम्म । त्यस पछि सबैलाई खाजा बनाएर आफू पनि लिदै ९ देखि अनलाईन समाचाहरु र आर्ट अफ लिभिङ्गका साईटहरुमा व्यस्त हुन्छु । बिहानको खाना पछि गुरुदेव परम पुज्य रविशंकरजी संग मेडिटेसन लाईभमा बस्छु । त्यसपछि मेरो अनलाईन ह्यापिनेस कक्षा सुरु हुन्छ । दिनको समयमा म्यूजिकमा रमाउछु । बेलुकी ८ः४० मा गुरुदेवसंग हामी सबै लाईभमा मेडिटेसनमा बस्छौ । यस लकडाउनको समयमा अध्यात्मीकलाई गहिराईमा बुझ्ने मौका पाए मैले र राति आर्ट अफ लिभिङ्ग सम्बन्धी छलफल र जिज्ञासाहरुलाई समेट्ने कोशिस गर्दै १० बजे सुत्ने प्रयास गर्छु ।
२) प्रत्यक्ष रुपमा योग (मेडिटेसन) गराउदा र अनलाईन मार्फत योग (मेडिटेसन) गराउदा के फरक पाउनु भयो ?
सबै भन्दा पहिला अनलाईनबाट संसारभरी छरिएर रहेका सबै साथीहरु छोड्ने अवसर मिल्यो । र यो एउटा नयाँ प्रविधिमा प्रवेश गरेका छौ । यसले भविष्यमा विश्वभरी छरिएर रहेका थुप्रै साधकहरुलाई यस संस्था संग जोडिने अवसर मिलीरहेको छ ।
३) कस्तो प्रतिक्रिया पाईरहनु भएको छ ?
आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाईरहेको छु र साधकहरुपनि खुशी हुनुहुन्छ ।
४) यो समयमा योग (मेडिटेसन) कत्तिको आवश्यक छ ?
अहिलेको परिस्थितिमा व्यक्तिहरु निकै तनावमा छन् । व्यापार व्यवसाय र रोजगारी जुन स्थितिमा छ यस प्रति बढ्रदै गएको लकडाउनको कारण मानिसहहरु त्रसित छन् । अब के हुने हो भन्ने चिन्ताले हरेको अनुहारको हाँसो हराउदै गएको छ । यस्तो समयमा हामीले यो परिस्थितिलाई अवसरको रुपमा लिनु पर्छ । यदि हामीलाई साँच्चैमा आफ्नो शरीरसंग माया छ भने आसन गरौं । सास संग प्रेम छ भने ध्यान गरौं र परिवार र देश प्रति माया छ भने घरमै बसौ यो मेरो सबैमा अनुरोध छ ।
५) के कुरालाई बढी मिस गर्दै हुनुहुन्छ ?
प्रत्यक्ष रुपमा साथीहरुलाई भेट्न नपाउँदा र आर्ट अफ लिभिङ्ग सेन्टरलाई मिस गरिरहेको छु ।
६) मानिसले आगामी दिनलाई सहज बनाउन कस्ता कार्ययोजना बनाउनुपर्ने देख्नु हुन्छ ?
लकडाउन खुल्छ तर हामीले अब वास्तविकतालाई स्वीकारेर अघि बढ्ने, सामाजिक दुरी कायम गर्ने र भिडभाडबाट आफूलाई टाढा रार्खौं । आफूलाई व्यस्त राखौं । सकारात्मक सन्देश दिने समाचारहरु पढ्ने बानी बसाऔं । खास गरि खानामा भिटामिन सि प्रर्याप्त मात्रामा समावेश गरौं । हावा र सूर्यको प्रकाश भएको ठाउँमा बसौं । साबुन पानीले पटकपटक हात धोऊ । बाहिर निस्कदा एउटा सेनिटाईजर र माक्स अनिर्वाय प्रयोग गर्ने बानी बसालौ । आफूमा रमाउने यो सुनौलो अवसरलाई नगुमाऊ र आफ्नो दैनिकी कार्यमा योगा र साधनामा सहभागी गरौ ।
७) घरमैबस्दा के कुराले मन पिरोलिदो रहेछ ?
हामी बाहिर हिडिरहने मान्छेलाई लामो समयसम्म एकै स्थानमा बस्नु पक्कै पनि सहज छैन । सरुसुरुका दिनहरुमा त निकै कठिन भएको थियो । तर बिस्तारै दैनिक तालिका बनाए यस अनुशार काम गर्न थालेपछि सहज भयो । अरु त सबै ठकै हो । तर अहिले लाखौं व्यक्तिहरु बेरोजगार भएका छन् । देशको अर्थतन्त्रनै डगमगाउने स्थितिमा छ, यो परिस्थितिबाट कसरी पार पाईएला । पुरानै जीवनशैलीमा फर्कन कति समय लाग्ला ? भन्ने विभिन्न प्रश्नहरु मनमा खेल्ने हुँदा मन पिरोलिन्छ ।
८) लकडाउनले मानवको मानसपटलमा कस्तो असर पारेको छ ?
हामी सामाजीक प्राणी भएकोले समाजमा बस्न रुचाउछौ, कोरोना संक्रमणको त्रास संगै लामो घरबन्दी, सामाजिक दुरी, आर्थिक अभावले मानिसमा थुप्रै समस्याहरु देखिएको छ । यो स्वभाविक पनि हो । त यसले मानसिक रोगिको संख्या बढाउने निश्चित छ । त्यसैले यस्तो समयमा हामीले आफूलाई तनाव मुक्त बनाउनु पर्छ । त्यसका लागी विहान योगा वा साधना गर्र्ने, मनोरञ्जनात्मक कार्यक्रमहरु बढी हेर्ने, विगतमा आफूले गर्न नसके कामहरु गर्न सकिन्छ भने गर्ने, भावि योजनाहरु बनाउने सकेसम्म आफूलाई व्यस्त राखौं ।