उमेरले ११ पुगेकी अंकिता साह वीरगंज महानगपालिका वडा नं. १२ मा रहेको विद्या सदन माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययरत छात्रा हुन् । उनको घर बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. २ मा रहेको छ । आफ्नो घरदेखि पर रहेको विद्यालयमा उनी म्याजिक भ्यान चढेर आइपुग्छिन् ।
म्याजिक भ्यानको व्यवस्था उनको विद्यालयले नै गरिदिएको छ । त्यसमा उनी मात्र नभई उनका भाइ, बहिनी र अन्य विद्यार्थी पनि सोही विद्यालयमा आउँछन् । बिहान ९ बजे मेन रोडमा आइपुग्छौं । म्याजिक आउँछ, अनि त्यसैमा बसेर विद्यालयसम्म आउँछु उनले घरदेखि विद्यालयसम्मको यात्रा बारे बताइन् । हजुर वुवा हजुर आमा, ठूलो वुवा, ठूली आमा उनीहरुका चार बालबालिका सहित आफ्नो बुबा आमाका पनि तीन सन्तान मध्येकी अंकिताका एक भाइ र बहिनी छन् । उनका भाइ र बहिनी पनि सोही विद्यालयमा अध्ययनरत छन् ।
पढाइसंग–संगै नृत्य र गायनमा पनि रुचि राख्ने अंकिताले भविष्यमा भने डाक्टरी पेशा अंगाल्ने तर्क गरिन् । ठूलोवुवाको छोरा उनका दाइले डाक्टर बन्नुपर्छ भनेपछि आफ्नो झुकाव डाक्टरी पेशा तर्फ आकर्षित भएको उनले खुलासा गरिन् । मेरो दाजुले न्यूरो सर्जन बन्नुपर्छ भन्नु हुन्थ्यो । त्यसैले मैले पनि भविष्यमा न्यूरो सर्जन बन्ने लक्ष्य लिएको उनको बताइन् । बुबाआमाले पनि राम्रो पढ भनु भएको छ उनले थपिन् ।
मिलनसार र मिजासिली स्वभावकी अंकिता विद्यालयमा राम्रो छवि बनाउन सक्षम विद्यार्थी हुन् । गणित विषय सहज र राम्रो लागे पनि व्याकरण गाह्रो लाग्ने उनले तर्क गरिन् । रमाइलो गर्दै बुझाएर पढाउने, माया गर्ने सुरज साह र इर्साद अंसारी सर उनका मनपर्ने शिक्षकहरु हुन् । आफूसंगै बस्ने, नजानेका कुराहरु बताउने, कुराहरु सेयर गर्ने साधना सर्राफ उनको मिल्ने साथी हुन् ।
विद्यालयमा हुने विभिन्न खेलहरुमा संक्रिय सहभागिता देखाउने अंकितालाई आफ्नो विद्यालयको अध्यापन औधी मनपर्ने बताउँछिन् । मलाई घरमाभन्दा विद्यालयमा बढी रमाइलो लाग्छ । यहाँ साथीहरु छन् । टिचरहरु हुनुहुन्छ । खेल्न पाइन्छ । नयाँ नयाँ कुराहरुको बारेमा सिक्न पाइन्छ । समय बितेको थाहा नै हुँदैन उनले भनिन् । विद्यालयमा खेलाइने डण्डी वियो खेल पनि उनलाई मनपर्ने उनले बताइन् ।
बाहिरको खानाभन्दा घरको खाना त्यसमा पनि रोटी र तरकारी एकदमै मनपर्ने उनको भनाइ छ । घरमा भएको समयमा पढ्ने र मोवाईलमा गेम खेल्ने उनको बानी छ । आफूलाई नआएका विषयहरु दाजुसंग सोधेर लेख्ने गरेकी अंकिताले घरको फूर्सदको समयमा आमालाई काममा सहयोग गर्ने गरेको पनि बताइन् ।