वीरगञ्जमा आयोजित एकदिने बृहत् रोजगार मेलामा ५०० भन्दा बढी युवा–युवतीको सहभागिता भएको छ। रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले आयोजित मेलामा २५ भन्दा बढी प्रतिष्ठित कम्पनी तथा संस्थाहरू सहभागी भएका थिए।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेश र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च–वीरगञ्ज च्याप्टर र एचआर सोसाइटीले सहकार्य गरेका थिए।
-1783330222.jpeg)
वीरगञ्जस्थित होटल भिषुवामा आयोजित कार्यक्रमको अध्यक्षता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले गरेका थिए भने मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष कुमार पटेल प्रमुख अतिथि रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले बेरोजगार युवा–युवतीलाई रोजगारीसँग जोड्न, उनीहरूको सीप र क्षमताको सदुपयोग गर्न तथा निजी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउन यस्ता रोजगार मेला प्रभावकारी माध्यम हुने बताए। उनले सरकारले रोजगारी प्रवर्द्धन, उद्यमशीलता विकास तथा निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
-1783330223.jpeg)
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठले रोजगार मेलाले रोजगारदाता र रोजगारी खोज्ने युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी दक्ष जनशक्ति व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले रोजगार मेला केवल रोजगारी खोज्ने र दिने पक्षबीचको भेटघाटमा सीमित नभई दक्ष जनशक्ति र उद्योग–व्यवसायबीचको प्रभावकारी सेतुका रूपमा रहेको बताए। उनले उद्योग तथा श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
रोजगार मेला संयोजक अनुप अग्रवालले रोजगारदाता र रोजगारी खोज्ने युवाबीचको दूरी कम गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउँदै आगामी दिनमा यसलाई अझ व्यापक बनाइने जानकारी दिए।
-1783330238.jpeg)
मेलामा सहभागी २५ भन्दा बढी कम्पनी तथा संस्थाले आफ्ना रिक्त पदका लागि योग्य जनशक्ति छनोट गर्न अन्तर्वार्ता तथा प्रारम्भिक मूल्याङ्कन गरेका थिए। सहभागी ५०० भन्दा बढी युवा–युवतीले आफ्नो योग्यता, अनुभव र रुचिअनुसार विभिन्न कम्पनीमा आवेदन दर्ता गर्नुका साथै रोजगारदातासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका थिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल उद्योग वाणिज्य महासंघ, वीरगञ्ज महानगरपालिका, नेपाली युवा उद्यमी मञ्च–वीरगञ्ज च्याप्टर, एचआर सोसाइटीलगायत विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको समापनमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपालले धन्यवाद ज्ञापन गर्दै रोजगारी सिर्जना निजी क्षेत्रको मात्र जिम्मेवारी नभएकाले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेकोमा जोड दिए।