पोखरिया नगरपालिका–९ स्थित हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा लायन्स क्लब अफ पोखरिया को आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
क्लबका अध्यक्ष नेजामुद्दीन शमानी को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा पूर्व नगर प्रमुख दिपनारायण रौनियार, श्रीकिसुन चौहान, वडा अध्यक्ष नौशाद आलम, लक्ष्मण साह, रामबाबु चौहान, लायन्स क्लब अफ पोखरियाका उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महिला नेतृ आशा चौहान, क्लबका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा हनुमान मन्दिरको जग्गा नामसारी प्रक्रियामा विशेष पहल गरेका गोरख साह तेली लाई उनको योगदानको सम्मानस्वरूप प्रमुख अतिथि जनार्दन सिंह क्षेत्रीले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हनुमान मन्दिर परिसरको विकासका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट आपसी विवादका कारण खर्च हुन नसकी फ्रिज हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको बताए।
उनीहरूले विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबीच सहकार्य, आपसी समझदारी र एकता आवश्यक रहेकोमा जोड दिए। साथै, हनुमान मन्दिर परिसरलाई हरियाली, स्वच्छ, आकर्षक धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबैको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमअन्तर्गत निर्माणाधीन पार्क क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने सन्देशसमेत दिइएको आयोजकले जनाएको छ।