दलहरूबीच सहमति हुन नसक्दा मधेस प्रदेशसभाको बैठक अझै अन्योलमा परेको छ। दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधपछि सुरु भएको केहीबेरमै स्थगित गरिएको थियो।
प्रदेश सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमा व्यापक त्रुटि रहेको भन्दै त्यसलाई संशोधन गर्न प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी जसपा नेपाल र जनमत पार्टीले बैठक अवरुद्ध गरेका हुन्।
अवरुद्ध बैठक सञ्चालनका लागि सभामुख रामअशिष यादवको पहलमा बुधबारदेखि सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच निरन्तर छलफल भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन। सहमति नजुटेकै कारण प्रदेशसभा बैठक कहिले बस्ने भन्ने विषय अन्योलमै रहेको छ।
प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाका अनुसार बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा छलफल जारी छ। उहाँले दलहरूबीच सहमति भएपछि मात्र बैठक सञ्चालन गरिने जानकारी दिए ।
बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरूले सरकारले आफ्नै नीति तथा कार्यक्रममार्फत घोषणा गरेका प्राथमिकताका विषयलाई बेवास्ता गर्दै साना तथा टुक्रे योजनामा बजेट विनियोजन गरेको, साथै बजेटमा प्रतिपक्षमाथि विभेद गरिएको आरोप लगाएका थिए। उनीहरूले बजेट संशोधन नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएपछि सभामुख यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए ।
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै उक्त बजेट प्रदेशसभामा पेश गरेका थिए ।