पेट्रोलियम पदार्थको मूल्य घट्ने सूचना सार्वजनिक हुनुअघि नै चुहिएपछि बुधबार बारा र पर्साका सीमावर्ती क्षेत्रमा पेट्रोल र डिजेलको अभाव देखिएको छ।
मंगलबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य घट्ने जानकारी पाएपछि अधिकांश पेट्रोल पम्प सञ्चालकले नेपाल आयल निगमबाट नयाँ आपूर्ति नउठाउँदा बुधबार दिनभरि इन्धन अभाव भएको हो।
पेट्रोल पम्पहरूले इन्धन बिक्री नगरेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो आएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा करिब एक दर्जन पेट्रोल पम्पमा अनुगमन गरिएको छ। अनुगमनका क्रममा अधिकांश पम्पले पेट्रोल बिक्री रोकेको भेटिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।

उनका अनुसार मूल्य घट्ने सूचना चुहिएपछि पम्प सञ्चालकहरूले सस्तो मूल्यमा इन्धन खरिद गर्ने उद्देश्यले नेपाल आयल निगमबाट आपूर्ति लिन रोकेका थिए। यसका कारण उपभोक्ताले अनावश्यक सास्ती व्यहोर्नुपरेको उनले बताए।
‘मूल्य घट्ने जानकारी पहिले नै पाएपछि केही पेट्रोल पम्पले निगमबाट पेट्रोलियम पदार्थ खरिद नगर्दा अभाव सिर्जना भएको देखियो,’ दाहालले भने ‘उपभोक्तालाई दुःख दिने उद्देश्यले आपूर्ति रोकेका पम्पमाथि आवश्यक कारबाही गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छौं।’

अनुगमनका क्रममा अधिकांश पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको पाइएको थियो । केही पम्पले डिजेल बिक्रीसमेत बन्द गरेका थिए। मूल्य समायोजनको सूचना बाहिरिएपछि बिक्रेताले नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट इन्धन माग नगरेकाले अभाव भएको प्रशासनको निष्कर्ष छ।
यस्तै बारा जिल्लामा पनि अधिकांश पेट्रोल पम्पले इन्धन बिक्री रोकेका छन्। त्यहाँको स्थानीय प्रशासनले समेत विभिन्न पेट्रोल पम्पमा अनुगमन गरेको जनाएको छ।