लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको लायन वर्ष २०२५/२६ को लागि लायन देवन्ती साह चयन भएकी छन् । मंगलबार सो क्लबको पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका निवर्तमान अध्यक्ष लायन सुशीला साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस, नेपालका निर्वाचित जिल्ला गभर्नर एमजेएफ लायन राम बिहारी पाण्डे प्रमुख अतिथिका रूपमा थिए ।

कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ का बहुजिल्ला संयोजक पीडीजी पीएमजेएफ लायन डीएन अग्रवाल, पीएमसीसी रमेश अग्रवाल, जिल्ला कार्यकारी प्रमुख एमजेएफ लायन बासु तिमल्सिना, डिष्ट्रिक चिफ लायन श्याम गुप्ता, लायन रोशन गुप्ता, लायन सुनिता अग्रवाललगायत पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो। उनीहरुले नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

निवर्तमान अध्यक्ष साहले अध्यक्ष–निर्वाचित लायन देवन्ती साहलाई क्लबको बैठक अभिलेख पुस्तिका, आधिकारिक अभिलेख तथा आवश्यक कागजात हस्तान्तरण गरिन् । नवनिर्वाचित अध्यक्ष लायन साहले आगामी कार्यकालका लागि क्लबको वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिन् । उनले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा परिणाममुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमको सञ्चालन लायन कविता खड्काले गरेकी थिइन् ।
