नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरले २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमसहित सम्पन्न गरेको छ।
“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा बारा र पर्साका सरकारी कार्यालयका कर्मचारी, विभिन्न संघ–संस्था तथा सरोकारवालासहित २५० जनाभन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रम निर्देशनालयको कार्यालय परिसर अगाडि सम्पन्न भएको हो।

महोत्सवको अवसरमा किसान, कृषि वैज्ञानिक, कृषि प्राविधिक, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सामूहिक धान रोपाइँसँगै जलवायुमैत्री कृषि प्रविधिको प्रयोग, उन्नत धानका जातको प्रवर्द्धन तथा धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने विषयमा जानकारी आदान–प्रदान गरिएको निर्देशनालयका निर्देशक डा. बीपी यादवले जानकारी दिए।

नेपालको कृषि अर्थतन्त्रमा धान बालीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले राष्ट्रिय धान दिवस प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रमसहित मनाइँदै आएको बताए।
आयोजकले किसान तथा कृषि क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालालाई कार्यक्रममा सहभागी भई धान दिवस सफल बनाउन आग्रह गरेको थियो।