मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि करिब साढे ४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आज सम्पन्न २० औँ नगरसभामा महानगरले शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको हो।
महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन्।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै १ अर्ब १९ करोड रुपैयाँ बढी हो। चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो।
आगामी बजेटमा चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार (कूल बजेटको ५४.३ प्रतिशत), पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार (४४.६ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ।
महानगरले बजेटको स्रोतका रूपमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट, आन्तरिक राजस्व, घरजग्गा रजिस्ट्रेसन शुल्क, गत वर्षको मौज्दात तथा नगर विकास कोषको योगदानलाई समेटेको छ।
स्रोत विवरणअनुसार संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड, गत वर्षको मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ।
नगरसभामा प्रस्तुत बजेटले महानगरको विकास प्राथमिकता विस्तार गर्दै सेवा प्रवाह र पूर्वाधार सुदृढीकरणलाई मुख्य लक्ष्य बनाएको बताइएको छ।