वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब चार अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । यो बजेट कार्यान्वयनमा आए हालसम्मकै सबैभन्दा ठूलो बजेट हुने बताइएको छ ।
यसअघि चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले करिब तीन अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तर, उक्त बजेटसमेत घाटामा रहेको अवस्थामा आगामी आवको प्रस्तावित बजेट पनि करिब एक अर्ब रुपैयाँ घाटामा रहने अनुमान गरिएको छ ।
महानगरको आन्तरिक राजस्व सङ्कलन अपेक्षाकृत कमजोर देखिएको छ । गत आर्थिक वर्षमा करिब ६३ करोड ५० लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको थियो ।
चालु आवमा यो लक्ष्यलाई झण्डै तीन गुणाले बढाएर एक अर्ब ९० करोड रुपैयाँ पु¥याउने योजना बनाइए पनि हालसम्म १० महिनाको अवधिमा करिब ५२ करोड रुपैयाँमात्र सङ्कलन भएको छ । यसले निर्धारित लक्ष्य हासिल हुने सम्भावना न्यून देखाएको छ ।
महानगरले वार्षिक रूपमा सरकारी अनुदानबाट करिब एक अर्ब २९ करोड रुपैयाँ प्राप्त गर्दै आएको छ । दातृ निकायबाट प्राप्त सहयोगसमेत जोड्दा यथार्थपरक रूपमा महानगरको कुल बजेट अढाई अर्बदेखि तीन अर्ब रुपैयाँको हाराहारीमा सीमित रहने देखिन्छ ।
तर प्रस्तावित बजेट त्यसभन्दा उल्लेखनीय रूपमा बढी रहेकाले वित्तीय सन्तुलन र बजेटको यथार्थताबारे प्रश्न उठ्न थालेका छन् । हालको अवस्थाअनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म महानगर करिब एक अर्ब २० करोड रुपैयाँ घाटामा पुग्ने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि तयार पारिँदै गरेको बजेट पनि करिब एक अर्ब रुपैयाँ घाटामा रहने प्रक्षेपण गरिएको छ । लगातारको घाटा बजेटले महानगरको वित्तीय अवस्था थप कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यसले कर्मचारीको तलबभत्ता तथा नियमित प्रशासनिक खर्च व्यवस्थापनमा समेत असर पार्न सक्ने देखिन्छ । सशर्त अनुदानअन्तर्गत प्राप्त रकमसमेत निर्धारित क्षेत्रमा प्रभावकारी रूपमा खर्च हुन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
यसैबीच नगरप्रमुख राजेशमान सिंह निलम्बनमा रहेका छन् भने कार्यवाहक नगरप्रमुखको जिम्मेवारी इम्तियाज आलमले सम्हालिरहेका छन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा वसन्तबहादुर बोहरा आएपछि आगामी बजेट यथार्थपरक र सन्तुलित हुने अपेक्षा गरिएको थियो ।
तर, महानगरले पुनः ठूलो घाटासहितको बजेट ल्याउने तयारी गरिरहेको देखिएपछि यसको वित्तीय व्यवस्थापन र दीर्घकालीन दिगोपनाबारे थप प्रश्न उठ्न थालेका छन् ।