अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार संरक्षण, न्यायमा पहुँच सुनिश्चितता तथा हिंसाविरुद्ध समुदायस्तरमै प्रभावकारी भूमिका निर्माण गर्ने उद्देश्यले वीरगञ्जमा दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
सीबीएम ग्लोबल र नेपाल अपाङ्ग महिला संघ (एनडीडब्लुए) को सहकार्य तथा मुक्ति नेपालद्वारा सञ्चालित IGNITE परियोजना अन्तर्गत आयोजना गरिएको उक्त तालिममा पालिकास्तरीय हिंसा प्रतिकार्य (VRG) समूह, जिल्ला सुरक्षा रक्षक सञ्जाल (SWD) का पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
तालिममा अपाङ्गताको अवधारणा, प्रकार, अपाङ्गता भएका व्यक्तिहरूका संवैधानिक तथा कानुनी अधिकार, समावेशीकरण, न्यायमा पहुँच, लैङ्गिक हिंसा, विभेद तथा अपाङ्गता भएका महिला र किशोरीहरूले भोगिरहेका बहुआयामिक चुनौतीका विषयमा विस्तृत छलफल र सहजीकरण गरिएको थियो।
कार्यक्रममा एनडीडब्लुएका अध्यक्ष मीना पाैडेल, सुष्मिता श्रेष्ठ र कुसुम पौडेलले सहजीकरण गर्दै अपाङ्गता भएका महिला तथा किशोरीहरूमाथि हुने हिंसा तथा विभेद अन्त्यका लागि समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय र संवेदनशीलता अपरिहार्य रहेको तर्फ जाेड दिएका थिए ।

तालिमको समापनमा सहभागीहरूले आफूहरू सामाजिक क्षेत्रमा सक्रिय रहे पनि अपाङ्गता भएका महिला तथा किशोरीका अधिकार, आवश्यकता र उनीहरूले भोग्दै आएका समस्याबारे पर्याप्त जानकारीको अभाव रहेको अनुभव सुनाएका थिए। तालिमले विषयप्रति आफ्नो बुझाइ फराकिलो बनाएको, दृष्टिकोण परिवर्तन गरेको र समुदायमा अझ जिम्मेवार ढंगले काम गर्न प्रेरित गरेको उनीहरूको भनाइ थियो।
सहभागीहरूले अबका दिनमा अपाङ्गता भएका महिला तथा किशोरीप्रति गरिने बोलीचाली र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने तथा उनीहरूको अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्ने तथा हिंसा, विभेद र हानिकारक अभ्यासविरुद्ध समुदायस्तरमा सचेतनामूलक तथा पैरवीमूलक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजकका अनुसार IGNITE परियोजनाले अपाङ्गता भएका महिला तथा किशोरीहरूको सशक्तीकरण, न्यायमा पहुँच अभिवृद्धि, हिंसा रोकथाम तथा समावेशी समाज निर्माणका लागि विभिन्न स्थानीय तहमा क्षमता विकास र सञ्जाल सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
‘अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई दयाको पात्र होइन, अधिकारका आधारमा सम्मानित नागरिकका रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने’ विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।