पर्साको परवानीपुरस्थित बहुराष्ट्रिय औद्योगिक प्रतिष्ठान ब्रिटानिया नेपाल प्रालिमा सम्भावित आगलागी जोखिम न्यूनीकरण तथा अग्नि सुरक्षा सचेतनासम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा खटिएको ३० सदस्यीय टोलीले उद्योगको स्थलगत निरीक्षण तथा सुरक्षा व्यवस्थाको अवलोकन गरेको हो।
निरीक्षणका क्रममा सशस्त्र प्रहरी टोलीले उद्योग परिसरभित्र अवलम्बन गरिएका सुरक्षा मापदण्ड, अग्नि सुरक्षा प्रणाली तथा आपत्कालीन तयारीको विस्तृत अध्ययन गरेको थियो। अवलोकनपछि टोलीले उद्योगमा जडान गरिएको उच्चस्तरीय अग्नि सुरक्षा प्रणाली र चौबीसै घण्टा तयारी अवस्थामा रहने व्यवस्थाको प्रशंसा गर्दै समग्र सुरक्षा व्यवस्थापन प्रभावकारी रहेको जनाएको छ।
कार्यक्रमका क्रममा सशस्त्र प्रहरीको प्राविधिक टोलीले उद्योगमा जडान गरिएको आधुनिक फायर हाइड्रेन्ट प्रणालीको परीक्षण तथा अध्ययन गरेको थियो। साथै, सम्भावित आगलागीको अवस्थामा फायर हाइड्रेन्ट, होज पाइप तथा अग्नि नियन्त्रक उपकरणको सही र प्रभावकारी प्रयोगबारे उद्योगका कर्मचारीलाई व्यावहारिक प्रशिक्षण तथा प्रत्यक्ष अभ्यास गराइएको थियो।
सुरक्षा संवेदनशील औद्योगिक क्षेत्रमा यस्ता तालिमले आगलागीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र प्रारम्भिक चरणमै आगो नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
उद्योग प्रशासनले सशस्त्र प्रहरी बल पर्साको टोलीले प्रदान गरेको निरीक्षण, सुझाव तथा प्रशिक्षणले सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुगेको भन्दै आभार व्यक्त गरेको छ।
कार्यक्रममा उद्योगका कारखाना प्रबन्धक, उत्पादन, गुणस्तर, सुरक्षा तथा मानव संसाधन विभागका अधिकारीहरूका साथै प्राविधिक कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।