उद्यमशीलता विकास तथा नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगञ्ज उद्योग वाणिज्य संघले ‘बीआईसीसीआई स्टार्टअप तथा इन्क्युबेशन कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्य तथा संघअन्तर्गतको ‘स्टार्टअप तथा नवप्रवर्तन समिति’ को समन्वयमा वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रमको उद्घाटन संघका सहसचिव तथा स्टार्टअप तथा नवप्रवर्तन समितिका संयोजक अनुप कुमार अग्रवाल को अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा संघका अध्यक्ष हरि प्रसाद गौतम प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने वरिष्ठ उपाध्यक्ष माधव राजपाल र उपाध्यक्ष आशिष लाठ विशेष अतिथि रहेका थिए ।

कार्यक्रमका प्रमुख वक्ता तथा निम्बस समूहका अध्यक्ष जगदिश अग्रवाल ले व्यवसाय रणनीति, दीर्घकालीन व्यापार वृद्धि, योजना निर्माण तथा प्रतिस्पर्धात्मक रणनीतिबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रमअन्तर्गत विभिन्न विषयमा आधारित ‘मास्टर क्लास’ सत्र सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रमा रुचि राख्ने युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यसैगरी जनक अधिकारी ले ‘बिजनेस मोडल क्यानभास’ सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरेका थिए । उद्योग तथा प्रतिस्पर्धी विश्लेषणसम्बन्धी सत्रमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईईडीआई) का पूर्व कार्यकारी निर्देशक उमेश गुप्ता ले बजार अध्ययन, उद्योगको अवस्था तथा प्रतिस्पर्धात्मक विश्लेषणबारे सहजीकरण गर्ने जनाइएको छ ।
कानुनी तथा सुशासनसम्बन्धी सत्रमा सुभाष खण्डेलवाल ले स्टार्टअप सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया, कर प्रणाली तथा सुशासनका आधारभूत विषयबारे जानकारी गराउनेछन् ।
मार्केटिङ, बिक्री तथा ब्रान्डिङसम्बन्धी सत्रमा सौरभ डिष्टिलरी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सौरभ करनजीत ले आधुनिक बजार व्यवस्थापन, डिजिटल ब्रान्डिङ तथा ग्राहक सम्बन्ध विस्तारका उपायबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
सञ्चालन तथा आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी सत्रमा ब्रिटानिया नेपालका अपरेसन हेड सन्दीप बंसल ले प्रभावकारी सञ्चालन प्रणाली तथा सप्लाइ चेन व्यवस्थापनका व्यवहारिक पक्षबारे सहजीकरण गर्नेछन् ।
बुककिपिङ तथा कर प्रणालीसम्बन्धी सत्रमा नरेश पटलले वित्तीय अभिलेख व्यवस्थापन, कर योजना तथा लेखा प्रणालीबारे जानकारी दिनेछन् भने लगानी तयारीसम्बन्धी सत्रमा दिपल खन्ना ले लगानीकर्तासमक्ष व्यवसाय प्रस्तुत गर्ने तरिका, वित्तीय तयारी तथा लगानी आकर्षणका रणनीतिबारे प्रशिक्षण दिनेछन् ।
स्टार्टअप बैंकिङ तथा वित्तीय व्यवस्थापनसम्बन्धी सत्रमा लक्ष्मी सनराइज बैंक वीरगञ्ज शाखाका व्यवस्थापक रोहिणी आचार्य ले बैंकिङ पहुँच, वित्तीय स्रोत परिचालन तथा स्टार्टअप वित्तीय व्यवस्थापनका अवसरबारे जानकारी गराउनेछन् ।
त्यसैगरी संकट व्यवस्थापन तथा स्टोरीटेलिङसम्बन्धी सत्रमा मनिष अस्वानी ले व्यवसायिक चुनौती व्यवस्थापन तथा प्रभावकारी प्रस्तुतीकरण सीपबारे प्रशिक्षण दिनेछन् ।
स्मार्ट कृषि सम्बन्धी विशेष सत्रमा नेपाल कृषि अनुसन्धान परिषद् मधेस प्रदेशका निर्देशक वैज्ञानिक डा. बिशेश्वर प्रसाद यादव ले प्रविधिमैत्री कृषि, आधुनिक उत्पादन प्रणाली तथा कृषि उद्यमशीलताका सम्भावनाबारे सहभागीलाई जानकारी दिने कार्यक्रम रहेको छ ।
कार्यक्रमले युवा उद्यमीहरूलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा नवप्रवर्तनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्दै नेपालको स्टार्टअप इकोसिस्टमलाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ ।