सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। अनुसन्धानको क्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गरिएको छ।
स्रोतका अनुसार, प्रमाण नष्ट हुन सक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा क्षतिग्रस्त भवन भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा यसअघि नै देउवा परिवारविरुद्ध सत्ताको आडमा अस्वभाविक र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा उजुरी परेको थियो। हाल अनुसन्धान टोलीले उक्त उजुरीसँग सम्बन्धित सूचना र प्रमाणहरू संकलन गर्दै अनुसन्धान थप अघि बढाउने काम गरिरहेको छ।
गृह तथा प्रहरी स्रोतका अनुसार, पछिल्लो डेढ वर्षमा जयवीर देउवा र उनका नजिकका नातेदारहरूको नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ।
स्रोतले बताए अनुसार, नातेदार प्रदीप शम्सेर जबरा, भुषण राणा लगायतका व्यक्तिहरूबाट जयवीर देउवा र अन्यको खातामा भएको कारोबारको विवरण संकलन भइरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक स्रोतले भने, “नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको संलग्नता, नेपाल टेलिकमको बिलिङ अनियमितता प्रकरणमा तत्कालिन सञ्चारसचिव डा. बैकुण्ठ अर्यालमार्फत विवादस्पद निर्णयपछि भएका कारोबारबारे उजुरीको छानबिन भइरहेको छ। त्यसैको सिलसिलामा बूढानीलकण्ठ निवासमा भत्काउने काममा रोक लगाइएको हो।”
देउवा परिवारले बूढानीलकण्ठमा एउटै कम्पाउण्डभित्र दुईवटा बंगालो बनाएका थिए। जेनजी आन्दोलनको समयमा परिवारमाथि आक्रमण र आगजनी भएको थियो। केही दिनदेखि देउवा परिवारका निर्देशनमा कामदारहरू परिचालन गरेर क्षतिग्रस्त भवन भत्काउने काम भइरहेको थियो।
प्रहरी स्रोतले भने, “भवनमाथि अनुसन्धानमा असर पर्ने र प्रमाण लोप हुन सक्ने आशंका भएपछि उच्चपदस्थ अधिकारीहरूको निर्देशनमा घर भत्काउने काम रोक लगाइएको हो।”