आज राष्ट्रिय प्रजातन्त्र दिवस । जहानियाँ हुकुमी शासन अन्त्य भएको दिनको स्मरणमा आज विविध कार्यक्रम गरी देशभरि यो दिवस मनाइँदै छ । बिस २००७ फागुन ७ मा राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरंकुश र हुकुमी शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र ल्याइएको थियो ।
२००७ मा नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना भएको थियो ।
त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मानिएको हो । प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, संघ–संस्थाका कार्यालयमा राष्ट्रिय झण्डा सजाउने र साँझ दीप प्रज्ज्वलन गरिनेछ ।
२०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अब प्रजातन्त्रको ठाउँमा लोकतन्त्रले ठाउँ थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको छ ।
तर, शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित भएको भन्दै आलोचनाको ओज पनि कम छैन ।
के हो राणा शासन ?
त्यो कालखण्डमा दरबार र शासन व्यवस्थामा छलकपट र षड्यन्त्र खुब चल्थ्यो । अझ शासनको आधार ‘षड्यन्त्र’लाई नै ठानिन्थ्यो । दरबारभित्रको शक्तिशाली हुने भन्ने खेलमा १९०३ भदौ ३१ का दिन जनरल गगनसिंह भण्डारीको हत्या हुन पुग्यो ।
त्यसपछि दरबारमा बदलाको खेल चल्यो । रातको समयमा दरबारभित्र भाइ भारदार बोलाइए । हत्याराको खोजमा भाइभारदारबीच काटमार चल्यो । जुन नेपालको रक्तरन्जित इतिहासमा कोतपर्वले चिनिन्छ । शक्तिशाली भारदारहरू काटिए र मारिएपछि जङ्गबहादुर कुँवर शक्तिशाली भए । त्यसपछि उनले राजालाई आफ्नो शक्तिभित्र परी शासन भार हत्याउन सफल भए ।
त्यो बीभत्स पर्वपछि दरबार शक्तिहीन बन्यो । त्यसपछि राजा सुरेन्द्र वीरविक्रम शाहले १९०३ मा आफ्ना उत्तराधिकारीकोतर्फबाट मुलुकको शासन भार श्री ३ महाराज जङ्गबहादुर कुँवरलाई सुम्पिन बाध्य भए ।
त्यसपछि जङबहादुरले आफूलाई शक्तिशाली देखाउन ‘कुँवर’बाट श्री ३ महाराज र ‘राणा’ लेख्न थाले । सामान्य सैन्यबाट शाही घरानामा उक्लिएको अनुभूति दिलाउन ‘राणा’ थर भित्रिएको हो । मुलुकको शासन भार भाइ र छोरामा सीमित गराए ।
जहानियाँ एकतन्त्रीय शासन १ सय ४ वर्ष चल्यो । राज्य सञ्चालन शैली स्वेच्छाचारी र परिवारमुखी थियो । राणा शासनसँगै एकपछि अर्का राजाहरू अधिकारविहीन थिए । राजा त्रिभुवनले जनतासँग मिलेपछि प्रजातन्त्र स्थापना भएको हो । राणाहरूबाट मुक्तिका निम्ति २००७ कात्तिकमा राजा त्रिभुवन भारत गएका थिए । एकातिर नेपाली काँग्रेसको नेतृत्वमा चलेको सशस्त्र क्रान्तिले उग्र रूप लिएपछि अन्तिम राणा शासक मोहन शमशेरले घुँडा टेके । मुलुकमा प्रजातन्त्रको उदय भयो ।