रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। संविधान जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो घटना हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने शाह पहिलो व्यक्ति बनेका छन्।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी भएका शाह पहिलोपटक संसद् प्रवेशलगत्तै प्रधानमन्त्री बन्न सफल भएका हुन्। झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित गर्दै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
मन्त्रिपरिषद् गठन
प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालयसमेत आफ्नै जिम्मेवारीमा राखेका छन्।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् भने तेस्रो वरीयतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्।
शिशिर खनाल परराष्ट्र मन्त्री बनेका छन् भने सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा सम्हालेका छन्। विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।
खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री बनेका छन् भने सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् भने विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन्।
प्रतिभा रावलले सामान्य प्रशासन मन्त्रालय, दीपक साहले श्रम, रोजगार मन्त्रालय र सोबिता गौतमले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन् भने सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन्।