इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडामा गरिएको भारी वृद्धि यात्रुका लागि थप आर्थिक बोझ बनेको छ। यातायात व्यवस्था विभागले लामो समयपछि भाडा समायोजन गर्दै यात्रुबाहक सवारीमा १६.७१ प्रतिशतसम्म वृद्धि गरेपछि वीरगन्जसिहत विभिन्न नाकाबाट देशका विभिन्न भागतर्फ यात्रा गर्ने सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्।
विभागले २०८१ पुस २२ पछि पहिलो पटक भाडा समायोजन गर्दै इन्धनको मूल्यमा ५ रुपैयाँभन्दा बढी उतारचढाव हुँदा भाडा पुनरावलोकन गर्ने नीतिअनुसार नयाँ दर लागू गरेको जनाएको छ। पछिल्लो समायोजनका बेला डिजेलको मूल्य प्रतिलिटर १५०.८३ रुपैयाँ रहेकोमा हाल निरन्तर वृद्धि भएपछि भाडा बढाइएको हो।
काकडभिट्टा–वीरगन्ज रुटमा सामान्य भाडा १३०६ रुपैयाँ तोकिएको छ भने डिलक्स र सुपर डिलक्सका लागि क्रमशः १५६८ र १८८१ रुपैयाँ कायम गरिएको छ। त्यस्तै काठमाडौँ–वीरगन्ज रुटमा सामान्य भाडा ९६१ रुपैयाँ पुगेको छ भने डिलक्समा ११५३ र सुपर डिलक्समा १३८३ रुपैयाँ तोकिएको छ।
वीरगन्ज–नेपालगन्ज रुटमा सामान्य भाडा १६८८ रुपैयाँ, वीरगन्ज–महेन्द्रनगरमा २२४७ रुपैयाँ र वीरगन्ज–पोखरामा ८१९ रुपैयाँ कायम गरिएको छ। विभागका अनुसार डिलक्स सेवामा २० प्रतिशत र सुपर डिलक्समा थप २० प्रतिशतसम्म भाडा लिन पाइने व्यवस्था छ।
यात्री सवारीसँगै मालवाहक सवारीको भाडामा पनि उल्लेख्य वृद्धि भएको छ। तराई क्षेत्रमा सञ्चालन हुने ट्रक तथा कन्टेनरको भाडा १५.७५ प्रतिशतले बढाइएको छ भने पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको विभागले जनाएको छ। यसले वीरगन्ज नाकाबाट आयात हुने खाद्यान्न, लत्ताकपडा र निर्माण सामग्रीको ढुवानी खर्च बढाएर उपभोक्ता मूल्यमा समेत असर पार्ने देखिएको छ।
वीरगन्जका यातायात व्यवसायीहरूले निर्णयलाई समयसापेक्ष भन्दै स्वागत गरेका छन् भने यात्रुहरूले भने आर्थिक मन्दीको अवस्थामै भाडा वृद्धि हुँदा सर्वसाधारणको ढाड सेकिने गुनासो गरेका छन्।
विभागले नयाँ भाडादर आजैदेखि लागू भएको जनाएको छ।