वीरगञ्ज महानगरपालिका वडा नं. १२ की ६० वर्षीया सोनादेवी पटेल विगत ३ दशकदेखि छठको व्रत गर्दै आएकी छन् । उनलाई अहिले छठको तयारीका लागि भ्याइनभ्याइ छ । घरको छतको एक कुनामा गहुँको बिस्कुन सुकाइएको छ भने अर्को कुनामा छठको पकवान पकाउन आँपलगायतका दाउरा राखिएको छ । छठमा सबै कुरा शुद्ध हुनुपर्ने मान्यता भएकोले उनले छठका लागि बनाइने परिकारहरूका लागि नयाँ माटोको चुल्हो र आँपका दाउरा आवश्यक पर्ने बताइन् ।
छठी मातालाई गहुँकै पिठोको परिकार चढ्ने भएकाले गहुँको पिठोबाट बनाइएका ठेकुवा, पुरीलगायतका पकवानहरू बनाइने गरेको उनको भनाइ छ । ‘मेरो छोरा सानै हुँदा उसको स्वास्थ्यलाभको लागि छठी मातासँग मेरी आमाले भाकल गरिदिनुभएको थियो । त्यही समयदेखि आजसम्म छठीमाताको व्रत बस्दैछु ।’
विशेषगरी तराई क्षेत्रका मधेशी समुदायमा मनाइने छठ पर्व अहिले पहाडी समुदायले पनि मनाउन थालेका छन् । वीरगञ्ज महानगरपालिका १३ त्रिमुर्ती चोक निवासी राधा शर्मा पनि विगत १५ वर्षदेखि छठको व्रत बस्दै आएकी छन् । आफू यही ठाउँको बासिन्दा भएकाले छठ पूजा गरेको देख्दा आफूलाई पनि छठ गर्ने चाहना भएको उनको भनाइ छ । ‘धर्मप्रतिको आस्था बुझेँ । निकै कठोर हुन्छ व्रत विधि । ३६ घण्टे निर्जला उपवास शुरू हुन्छ । भागदौडमा हुँदा पनि शरिरमा त्यो उर्जा हुँदा मातामा शक्ति छ भन्ने विश्वास हुन्थ्यो,’ उनले भनिन्, ‘छठी माताकै कृपाले आज सबैकुरा राम्रो छ । यो पर्वले भगवान्प्रतिको आस्थसँगै आफूलाई अनुशासनमा रहन सिकाउँछ ।’
कुनै जातजातिमा सीमित नभई जसले गरे पनि हुने यो पर्वको व्रत विधिबारे जानकारलाई सोधेर आफंै बस्न सकिन्छ । यो आस्थाको कुरा भएको जानकारहरूको भनाइ छ । छठपर्व गर्ने सबैले जात, समुदाय र जातजातिलाई एउटै आचरण र व्यवहारमा सूत्रबद्ध गरेको हुन्छ ।
तिहारलगत्तै छठ पूजाको उत्सव धुमधामसाथ मनाउन थालिन्छ । कात्तिक शुक्लपक्षको चौथी तिथिमा छठ पूजाको व्रत आरम्भ हुन्छ । पहिलो दिन विधिपूर्वक नुहाएर खाने चलन छ । जसलाई भोजपुरी भाषामा ‘नहाए–खाए’ भन्ने गरिन्छ । यसपटक शनिबारबाट यो विधि गर्दै व्रतालुले छठ पर्व मनाउने छन् । यस दिन व्रतालुले नुहाएर पवित्र भई शुद्ध सात्विक भोजन गर्छन् । आइतबार ‘रसियाब रोटी’ खाएर ३६ घन्टे निर्जला उपवास शुरू हुन्छ । सोमबार जलाशय किनारमा सामूहिक पूजापछि अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि समापन हुन्छ ।
यो पर्वमा बाँसको सामग्रीमा अघ्र्य दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठेकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको धार्मिक क्षेत्रका विज्ञहरू बताउँछन् । पहिलो दिन शुद्ध भएर सादा खाना खाइने र खानामा सकभर लौकालाई विशेष प्राथमिकतामा राखिने गरिन्छ । तीन दिनसम्म नुनिलो खान नहुने र भोकै रहनुपर्ने हुँदा पोषिलो खाना भएकाले लौका राखिएको हो ।
यसै दिन ठेकुवाका लागि गहुँ धोएर सुकाउने किनमेल गर्ने, पुराना छैठी, नाङ्गलो, धोइपखाली राख्ने काम गरिन्छ । छठको दोस्रो दिनलाई रसीयावरोटी पनि भनिन्छ । यस दिन अघिल्लो दिन धोइपखाली राखीएका गँहुलाई पिस्न लगाइन्छ । फलफूल किनेर ल्याउनेलगायतको काम गरिन्छ र बेलुका नयाँ चुह्लोमा बनाइएको खिर, पुरी, चामलको रोटीलगायका चोखो परिकार बनाएर खाइन्छ ।
शुद्ध हुने मान्यतामा यो चारै दिन आँपको दतिवनले दाँत माफ्ने गरिन्छ । त्यस्तै तेस्रो दिन एकाबिहानै पिठोको पुरी, ठेकुवालगायतका विभिन्न परिकारहरू बनाइन्छन् । आफ्नै बारीमा फलेका कन्दमूल फलफूल, अदुवा, मूला लगायतका सबै सामानलाई मिलाइ छैठी सुपलीमा राखिन्छ ।
बारा परवानीपुर– ५ बहुअरीकी लालमतिदेवी साहले विगत लामो समयदेखि छठको ब्रत गर्दै आएकी छिन् । चार दिनसम्म मनाइने यस पर्व हरेक दिनको आआफ्नै महत्व रहेको बताउँछिन उनी । ‘सूर्य र उनको देवी रूप उषालाई छठी मैयाँको रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्ने चलन छ ।
वीरगञ्ज–१५ निवासी सावित्री संग्रौलाले २०७४ सालदेखि छठको व्रत बस्न शुरू गरेको बताइन् । भाकल गरेको र पूरा भएको कारण आफूले छठ पर्वको महत्व बुझेको उनले बताइन् । ‘हाम्रो परिवारमा छठ पर्वको विश्वास र आस्थाले खुसी भरिएको छ । मैले व्रतलाई निरन्तरता दिएकी छु । अब झन विश्वास जागेको छ । यो पर्व धार्मिक आस्था र विश्वासमा मात्र सीमित छैन, यसको सामाजिक र वैज्ञानिक पाटो समेत रहेको छ,’ उनको भनाइ छ ।
अरू बेला खासै प्रयोगमा नल्याइने वनस्पति र सामग्रीलाई यस बेला महत्व दिई खोजेर ल्याइन्छ । मानिसबीच पनि गजबको सद्भाव देखिन्छ, । को तल्लो को माथिल्लो भन्ने पनि रहँदैन । यसबाट पनि छठबाट प्रभावित भएको संग्रौला बताउँछिन् । छठ विशुद्धरुपमा प्रकृतिको र पुरुषको पूजा हो । सन्तान उत्पादनका लागि दैवीकृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ ।
भाकल भएकाहरूले कोशी भर्ने चलन छ । त्यसका लागि उखु, केरा, माटोका हात्तीलगायतका सामाग्री आवश्यक पर्ने बताउँछिन् लालमतिदेवी साह । उनका अनुसार चारै दिन गीत पनि गाइन्छ ।
शुद्धता, सद्भाव र आस्थाको पर्व छठ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइन्छ । विभिन्न जलाशय र नदी क्षेत्रमा छठ पर्व मनाउने गर्दछन् । श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने जन विश्वास लिएको छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास रहिआएको छ ।
पौराणिक कथामा छठ
अग्नि पुराणमा षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको उल्लेख छ । सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको यो व्रत कात्तिक महिनामा पर्छ । कार्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ । चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाउने चलन छ ।
छठमा अर्थसामाजिक र वैज्ञानिक दृष्टिकोण
छठ पर्व पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा मनाइन्छ । यो पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिने गरेको पाइन्छ ।
‘जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ । छठको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसले सबै समुदाय र पक्षलाई समाहित गर्छ । सदाचारले आपसी मेलमिलापयुक्त वातावरण बनाउँछ र समाज यस अवसरमा जातीय विभेदरहित हुन्छ,’ डा. विश्वम्भर शर्माले बताए ।
‘जातीय भेदभाव, छुवाछूत, उचनिचको भावना छठमा हुँदैन,’ उनले भने, ‘कुलीन भनिएको परिवारका बुहारीले पनि छठको आशीर्वादस्वरुप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अघ्र्यको ठेकुवा आए पनि सहर्ष स्विकार्ने गरिन्छ ।’
छठमा प्रायः महिलाले व्रत बस्छन् भने पुरुषले उनीहरूको पूजा सामग्री भएको ढक्की (दउरा) टाउकोमा बोकेर घरबाट छठघाट र घाटबाट घरसम्म लाने ल्याउने गर्छन् । यसले लैंगिक सहकार्य र सम्मानको सन्देश दिएको छ ।
यस पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री बनाउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप देख्न सकिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन् र सम्मान गर्छन् । तर, डुब्न लागेको घाम गरीब तथा बेसहारालाई कसैले हेर्दैनन् । यो पर्वमा भने जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिइएको छ । सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिए जस्तै सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । छठपूजामा शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिइन्छ ।
ब्रतालुहरू यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन् । छठको शुरूदेखि अन्त्यसम्म सवै विधिविधानहरू गीतबाटै बुझ्न सकिन्छ । छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ । जसले छठ आएको भान हुन्छ । गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्ने भाव व्यक्त गरेको पाइन्छ ।
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन् । प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने कुरा यो पर्वको अर्को सन्देशमुलक पाटो पनि हो । गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर (मिठ्ठा), कागती, केरा, उखु, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको प्रष्टै देखिन्छ ।