नेपालमा भएका हरेक परिवर्तनकारी आन्दोलन युवाहरूको सहभागिताबिना सफल भएका छैनन् । युवाहरू राष्ट्रको मेरुदण्ड हुन् । उनीहरूमा उर्जा, सिर्जनशीलता, संघर्ष गर्ने साहस र परिवर्तन गर्ने आँट हुन्छ । हामी भूतकाल हेर्छौं भने विश्वका हरेक ठूला परिवर्तन, क्रान्ति वा विकासको मूलमा युवाको भूमिका देखिन्छ । नेपालको इतिहासमा पनि राणा शासनको अन्त्यदेखि प्रजातन्त्र र गणतन्त्र स्थापनासम्म युवाको आहुति र सक्रियताले नै निर्णायक योगदान दिएको छ । आजको संसार विज्ञान, प्रविधि, शिक्षा र नवप्रवर्तनको युगमा तीव्र गतिमा अगाडि बढिरहेको छ । यस्तो अवस्थामा पुराना सोच र ढर्राले मात्र देश अघि बढ्दैन । नयाँ सोच, नयाँ दृष्टिकोण, र नयाँ उर्जा आवश्यक हुन्छ । यो क्षमता युवामा प्रचुर मात्रामा पाइन्छ । त्यसैले युवा आजको आवश्यकता हो भन्ने कुरा केवल नारामात्र होइन, वास्तविकता हो ।
युवाले देश चलाउन केही शर्तहरू आवश्यक छन् । पहिलो, युवामा शिक्षा र सीप हुनु पर्छ । दोस्रो, नेतृत्व गर्ने नैतिकता, पारदर्शिता र जिम्मेवारीबोध हुनु पर्छ । तेस्रो, पुराना पुस्तासँग सहकार्य र अनुभवको उपयोगका लागि सहकार्यको परिपक्वता हुनुपर्छ । यदि राज्यले युवाको सीप र क्षमतालाई उपयोग गर्ने वातावरण बनाइदियो भने बेरोजगारी समस्या होइन, बरू अवसर बन्छ । रोजगारीमा विदेशिने युवाहरूले आफ्नै देशमा उद्योग, उद्यम, नवप्रवर्तनमार्फत् आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्छन् ।
विडम्बना, नेपालको राजनीतिमा बारबार युवाहरूको काँधमा टेकेर ६० वर्ष कटेकाहरूमात्रै नेतृत्वको बागडोरमामा देखिएका छन् । यसले कहिँ न कहिँ युवाहरूलाई राजनीतिको बाटोमा यात्रा गरौं कि नगरौं ढुलमुले बनाइरहेको अवस्था छ । नेपालको जनसंख्यामा १५ देखि ४० वर्ष समूहका युवाहरूको संख्या ४४ प्रतिशत छ । राजनीति गर्न औपचारिक शैक्षिक योग्यताको आवश्यकता पर्दैन । नेतृत्व गर्न सक्ने क्षमता, गहिरो अध्यन, प्रभाव पार्न सक्ने अनुभवको साथै रचनात्मक विवेक भएको व्यक्तिले मात्रै देशलाई अघि बढाउन सक्छन् भन्ने तथ्यप्रति आँखा चिम्लिएको अवस्था छ ।
युुवा पुस्ताको महत्वकाक्षा के हो ? यी पुस्ताले अबको राजनीतिक भविष्य कस्तो देख्छन् ? आउने पुस्ताले देख्ने सपना र यर्थाथबारे अहिलेको नेतृत्व गम्भीर भएको देखिँदैन । आजका युवा भोलिको पुस्ताका परिकल्पनाकार भएको हुँदा तिनलाई नेतृत्वमा अवसर प्रदान गरिनु पर्दछ । यो विचारलाई व्यावहारमा बदल्नु पर्दछ ।
राजनीतिमा पात्रमात्र बदिलिए । न विचारमा बदलाव देखियो, न ठूलाठूला मञ्चमा उद्घोष गरिएका भाषणलाई व्यावहारमा उतारियो । राजनीतिक संस्कार, स्वच्छ प्रतिस्पर्धा, विज्ञहरूको सहभागिता, सुझाव, नीति, कार्यक्रम, विकासमा दुरदर्शिता, नेतृत्व परिचालनमा आत्मीयतासहितको विश्वासको कमी छ ।
तन्त्र परिवर्तन त भए, तर देशको शासन व्यावस्था परिवर्तन गर्ने मन्त्र पुरानै भयो । नेतालाई कुर्सी मोह, कार्यकर्तालाई नेताको अगाडि पछाडि फन्को लागाउने दलीय राजनीतिक व्यवस्था समस्याा कारण हुन् । आज त्यसैको फलस्वरुप नेताका अगाडि कार्यकर्ता अपमानित, असुरक्षित, निरीह भएर विचारहीन हुल बनेका छन् । कहिले यो दलमा त कहिले त्यो दलमा समाहित छन् ।
नेपाली राजनीतिमा प्रजातान्त्रिक संस्कार, विधि र पद्वतिलाई परिपालन गर्न गराउन आवश्यक छ । युवालाई नेपाली राजनीतिमा प्रवेश गराउन अहिलेको पुस्ताले सोच्ने बेला हो यो । यो बेला भनेको युवाहरूलाई कमजोर आँक्ने होइन, उपयोग गर्ने हो । इतिहासलाई फर्केर हेर्दा सिकन्दरले विश्व विजयको यात्रा शुरू गर्दा २१ वर्षका थिए । पृथ्वीनारायण शाह नेपाल एकीकरणमा लाग्दा २१ वर्षका थिए । काल माक्र्सले घोषणापत्र लेख्दै गर्दा उनी ३० वर्षका थिए । कृण्णप्रसाद भट्टराई ३५ वर्षमा नै सभामुख भएका थिए । बीपी कोइराला ३७ वर्षमा मुलुकको गृहमन्त्री भएका थिए । तर, अहिलेको राजनीतिमा स्वच्छ, स्वतन्त्र र असल छवि भएको नेता पाउन मुश्किल काम भएको छ ।
अन्त्यमा, आन्दोलन राजनीतिक होओस् वा अन्य, हकअधिकारका लागि परिवर्तन जरुरी छ । आजसम्मका आनदोलनहरूको उपलब्धिका रुपमा संविधानमा संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी, जातीय, क्षेत्रीय, वर्गीय समानताका लागि अघिल्लो पुस्ताले गरेको राजनीतिक भूमिका थियो । सामाजिक मानसिकता, संरचनागत समस्या, मुद्दा उठान र समाधान, यी सबै कुरामा स्वच्छ राजनीतिको आवश्यकता छ । युवा केवल भविष्य होइनन्, उनीहरू वर्तमानका शक्ति हुन् । उनीहरूको जोश, ज्ञान र लगनलाई नेतृत्वमा रूपान्तरण गर्न सकेमात्र राष्ट्रले साँच्चिकै प्रगतिको बाटो समात्छ ।