हाम्रा मान्यजनहरूले दसैं टीका लगाउँदै संस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन्‚ तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरि र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरि मन्त्र पढ्ने गरेको पनि पाउँछौं । यस्तो किन होला भनेर धेरैको मनमा प्रश्न उठ्न सक्छ ।
हामी हाम्रो संस्कार र संस्कृतिबारे जानकार भए पनि ती संस्कार र सँस्कृतीका कारणबारे अनविज्ञ भयौं भने पुस्तान्तरणमा समस्या देखिन सक्छ । अहिलेका नयाँ पुस्तालाई हरेक कुराको कारण चाहिन्छ । यदि हामीले ती कुराको पुष्टि गर्न सकेनौं भने नयाँ पुस्ताले स्वीकार्न गाह्रो मान्छ । हाम्रा बालबच्चामा हामीले मानेको संस्कार र संस्कृतिको हस्तान्तरण गर्न पनि ती सबैको बारेमा पहिला आफैँ जानकार हुन आवश्यक छ । अब कुरा गरौं दसैंको टीका लगाउँदा भनिने मन्त्रको ।
आयुर्द्रोण सुते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
सौर्यं सान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे॥
यस विषयमा प्रष्ट हुन जरुरी छ कि, यो श्लोक कुनै धार्मिक पुराणअन्तर्गतको होइन । यो श्लोक विशेषगरी नेपालमा मात्र प्रयोग हुन्छ । यो श्लोक नेपालका राजाहरूलाई टिका लगाउँदा प्रयोग भएको हुन सक्ने संस्कृत भाषाका ज्ञाताहरू बताउँछन् । किनभने यसमा रहेका सबै पात्रहरू राजपरिवारअन्तर्गतका छन् । त्यसैले यसलाई सुरुमा कुनै राजपुरोहितले राजालाई आशीर्वाद दिन बनाएको हुनसक्छ ।
यस मन्त्रमा गुरु द्रोणाचार्यको पुत्र अश्वत्थामाको जस्तै आयु होस् । दशरथ राजाको जत्तिकै सम्पत्ति होस् । शत्रुको नाश गर्न भगवान राम झैं पराक्रमी हुनू । नहुष राजाको जस्तै ऐश्वर्य होस् । हावाको जस्तै गति र दुर्योधनको जस्तै मान–सम्मान मिलोस् । सूर्यपुत्र कर्णजस्तै दानी हुनू । शक्तिमा बलरामजस्तै बलवान हुनू । सत्यमा कुन्तीपुत्र सत्यवान् युधिष्ठिर जस्तै हुनू । विद्वानमा विदुर बराबर हुनू । भगवान नारायणको जस्तो कीर्ति होस् भनेर भनिएको छ । यो नै मन्त्रको सार हो ।
यसमा उल्लेख गरिएका पात्रहरूको बारेमा जान्नको लागि भने अध्ययनकै जरुरी हुन्छ । यदि कसैले श्रीमद्भागवत महापुराणका कथाहरू सुन्नु भएको छ भने त्यसमा यी सबै पत्रहरूको बारेमा उल्लेख गरिएको छ । यहाँ अश्वत्थामा, दशरथ, भगवान राम, नहुष, पवनदेव, दुर्योधन, कर्ण, भगवान कृष्णका दाई बलराम, युधिष्ठिर, विदूर र भगवान नारायणलाई उदाहरणीय पात्र बनाइएको छ ।
अर्को मन्त्र:
जयन्ती मंगलाकाली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमोस्तुते ।
यसमा कुनै विशेष आशिर्वाद नभएर देवीको स्तुती गाइएको छ । यसमा देवीको विभिन्न स्वरुपको नाम लिइएको छ । यो श्लोक चण्डीबाट साभार भएको हो ।
जयन्ती : जित्नेवाली
मंगलाकाली : मंगल गर्नेवाली देवी
भद्रकाली : दक्षप्रजापतीको यज्ञ विनास गर्न सतीदेवीको क्रोधबाट प्रकट भएकी देवी
कपालिनी : भगवती दुर्गाको अर्को नाम
दुर्गा : दुर्ग नाम गरेको राक्षसलाई मार्नेवाली देवी
क्षमा : पृथ्वी
शिवधात्री : कल्याण गर्नेवाली
स्वाहा : दक्षप्रजापतीकी छोरी
स्वधा : दक्षप्रजापतीकी छोरी
नमोस्तुते : त्यस्ती देवीलाई नमस्कार छ ।
यो मन्त्र विशेषगरी महिलालाई टीका लगाउँदा उच्चारण गरिन्छ । तर हामीले बुझे झैँ दसैंमा महिलालाई टीका लगाउन यही मन्त्रको प्रयोग गर्नुपर्छ भन्ने धारणा चाहिँ गलत हो ।
यस विषयमा कुनै पनि धार्मिक शास्त्र, नीति, पुराण तथा पौराणिक ग्रन्थहरूमा उल्लेख छैन । यो हामी आफैँले चलाएको चलनमात्र हो । नत्र माथि उल्लेख भएको आयुर्द्रोण सुते... श्लोकको रचना गर्नुभन्दा पहिले दसैंमा कसैले पनि आशिर्वाद नै पाउँदैन थिए त ?
आशीर्वाद भनेको शुभेच्छा हो । भलो चिताउनु हो । सफलताको कामना गर्नु हो । त्यसैले आशीर्वादमा कहिले पनि विभेद भन्ने कुरा हुँदैन । आशिर्वादले महिला र पुरुष छुट्ट्याउँदैन ।
दसैंमा टीका लगाउँदा महिला र पुरुषलाई फरक–फरक आशीर्वाद दिनुको कारण हाम्रो पुरातन धारणामात्र हो‚ यो कुनै शास्त्रसम्मत होइन ।
यदि कसैलाई संस्कृत भाषाका श्लोक आउँदैन भने आशिर्वाद दिँदा के गर्ने त भन्ने पनि प्रश्न उठ्न सक्छ । आशीर्वाद मनैदेखि दिने हुँदा यसमा कुनै पनि भाषा प्रधान रहँदैन । संस्कृत भाषालाई सबैभन्दा पुरानो भाषा र देवताको प्रीय भाषा मानिएकाले संस्कृतका श्लोक प्रयोग गरिएको हो । श्लोक नआउनेले शुभ चिजहरूको कामना गर्दै टीका लगाउँदा हुन्छ ।
विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीकाजमरा लगाई आशीर्वाद लिने गरिन्छ । - न्युज कारखाना