वीरगञ्जको मुख्य बजारमा केही महिनाअघिसम्म बिहानैदेखि चहलपहल शुरू हुन्थ्यो । पसलहरू खुल्थे, ग्राहकको आवतजावत बढ्थ्यो र हजारौँ मानिसको दैनिक जीविकोपार्जन यही बजारसँग जोडिएको थियो । तर, अहिले त्यही बजारको दृश्य फेरिएको छ ।
सडक विस्तारका लागि डोजर चलेपछि कतै भत्किएका संरचनाको भग्नावशेष छन्, कतै धुलो र हिलोबीच व्यापार जोगाउने संघर्ष छ भने कतिपय ठाउँमा वर्षौँदेखि सञ्चालनमा रहेका व्यवसाय नै इतिहास बनेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत गण्डकदेखि नेपाल–भारत मितेरी पुलसम्म २५–२५ मिटर क्षेत्रभित्रका संरचना हटाउने अभियान गत वैशाख ६ गतेदेखि सञ्चालनमा छ । सरकारले यसलाई शहरी पूर्वाधार सुधार र दीर्घकालीन विकाससँग जोडेको छ ।
तर, स्थानीय व्यवसायीहरूका अनुसार विकासको यही यात्राले हजारौँ व्यवसायी, कर्मचारी र मजदूरको जीविकोपार्जनमा प्रतिकूल असर पारेको छ ।
सडक विस्तारको प्रभाव केवल भवन भत्किनुमा सीमित छैन । यसको प्रत्यक्ष असर व्यापारिक गतिविधि, रोजगारी, लगानी र स्थानीय अर्थतन्त्रसम्म फैलिएको देखिन्छ । मुख्य सडक क्षेत्रमा रहेका करिब १२ सय घर तथा व्यावसायिक संरचना हटाइएपछि पसल, गोदाम, अस्पताल, बैंक तथा वित्तीय संस्था र सेवा केन्द्रहरू विस्थापित भएका छन् ।
बजारको आर्थिक चक्र सुस्ताउँदा त्यससँग जोडिएका हजारौँ श्रमिकको भविष्य पनि अन्योलमा परेको व्यवसायीहरूको भनाइ छ । वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल सडक विस्तारले स्थानीय अर्थतन्त्रमा अपेक्षाभन्दा ठूलो धक्का पु¥याएको बताउँछन् । ‘व्यापारिक गतिविधि प्रत्यक्ष रूपमा प्रभावित भएको देखिएको छ । वर्षौंदेखि सञ्चालन हुँदै आएका पसल, गोदाम, होटल, सेवा केन्द्र तथा अन्य व्यवसाय अचानक विस्थापित हुँदा कारोबार घट्नुका साथै धेरै कर्मचारीले रोजगारी गुमाउनुपरेको छ,’ उनले भने । करिब तीन हजार व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् भने १२ हजारभन्दा बढी मानिसको रोजगारी गुमेको अनुमान संघले गरेको छ ।
मुख्य बजार क्षेत्रमा व्यापार गर्दै आएका व्यवसायीका अनुभवले पनि यही तस्वीर देखाउँछ । घण्टाघर क्षेत्रमा घडी पसल सञ्चालन गर्दै आएका धर्मनाथ सर्राफका अनुसार सडक विस्तारपछि बजारको पुरानो रौनक हराएको छ ।
‘मुख्य बजार क्षेत्रमा करिब १२ सय घरमा कम्तीमा २५ सयदेखि ३ हजार व्यापार व्यवसाय सञ्चालनमा रहेका थिए । ती व्यवसायले हजारौँ मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गरेका थिए । सडक विस्तारका कारण तीमध्ये धेरै व्यवसाय बन्द भएका छन्,’ उनले भने । उनका अनुसार अहिले कतिपय व्यवसायी धुलो र हिलोबीच अस्थायी रूपमा व्यापार गर्न बाध्य छन् भने धेरैले व्यवसाय नै बन्द गरिसकेका छन् ।
व्यापार घट्दा त्यसको पहिलो असर कामदार र कर्मचारीमाथि परेको देखिन्छ । आम्दानी घट्दै जाँदा सञ्चालन खर्च धान्न नसकेपछि व्यवसायीहरूले कर्मचारी कटौती गर्न थालेका छन् । व्यवसायी सन्तोष सर्राफ भन्छन्, ‘व्यापार व्यवसाय कमजोर बन्दा त्यसको असर रोजगारीमा पनि परेको छ । धेरै व्यवसायीले खर्च कटौती गर्न कर्मचारी घटाएका छन् भने केहीले पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।’ उनका अनुसार व्यापारमा आएको गिरावटले बजारको आर्थिक चक्र नै कमजोर बनाइरहेको छ ।
सडक विस्तारको सबैभन्दा ठूलो भार साना तथा मध्यम व्यवसायीले बोकिरहेका छन् । नयाँ स्थानमा व्यवसाय सार्नु उनीहरूका लागि केवल पसलको ठेगाना परिवर्तन गर्नुमात्र होइन, फेरि शून्यबाट लगानी शुरू गर्नुजस्तै भएको छ । नयाँ स्थानमा भाडा तिर्नुपर्ने, सजावट गर्नुपर्ने, विद्युत् जडान गर्नुपर्ने र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बाध्यता उनीहरूसामु छ ।
ब्युटिसियन गुड्डी जोशी भन्छिन्, ‘नयाँ स्थानमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने, सजावट गर्नुपर्ने, विद्युत् तथा अन्य सेवा जडान गर्नुपर्ने र पुनः व्यवसाय सञ्चालनयोग्य वातावरण बनाउनुपर्ने हुन्छ । व्यवसाय स्थानान्तरण गर्नु केवल सामान सार्ने काम होइन, पुनः लगानी गर्ने चुनौती पनि हो ।’ साना व्यवसायीका लागि यस्तो अतिरिक्त लगानी धान्न निकै कठिन भइरहेको छ ।
व्यापारिक क्षेत्र सुस्ताउँदा त्यसको असर व्यक्तिगत व्यवसायीमा मात्र सीमित रहँदैन । बजारको कारोबार घटेपछि ढुवानी, श्रम, बैंकिङ, सेवा क्षेत्र र उपभोगसमेत प्रभावित हुन्छ । यही कारण वीरगञ्ज उद्योग वाणिज्य संघले सडक विस्तारलाई केवल भौतिक पूर्वाधारको विषय नभई स्थानीय अर्थतन्त्रसँग जोडिएको मुद्दाका रूपमा हेर्नुपर्ने बताएको छ ।
संघका अध्यक्ष हरि गौतम निर्माण कार्य लम्बिँदा व्यवसायीहरू थप आर्थिक दबाबमा परिरहेको बताउँछन् । ‘मुख्य बजार क्षेत्रमा रहेका धेरै व्यवसायीको कारोबार उल्लेखनीय रूपमा घटेको छ । केही व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् भने केहीले ठूलो घाटा व्यहोर्नुपरेको छ,’ उनले भने । उनका अनुसार व्यापार सुस्ताउँदा स्थानीय अर्थतन्त्रसमेत कमजोर बन्दै गएको छ ।
व्यवसायीहरूले विकासको विरोध नगरेको स्पष्ट पार्दै विकास र जनजीविकाबीच सन्तुलन आवश्यक रहेको बताएका छन् । वरिष्ठ उपाध्यक्ष राजपाल भन्छन्, ‘वर्षौँदेखि सञ्चालनमा रहेका कतिपय व्यवसाय अहिले अस्तित्व जोगाउने संघर्षमा छन् । केही व्यवसायी आर्थिक दबाबका कारण व्यापार बन्द गर्ने वा अन्यत्र सर्ने अवस्थासम्म पुगेका छन् । वीरगञ्जका नागरिक पूर्वाधार विकास चाहन्छन्, तर त्यसले स्थानीय अर्थतन्त्रलाई धराशायी बनाउने गरी होइन ।’
व्यवसायीहरूको अर्को गुनासो सडक विस्तारको विकल्पबारे पनि छ । उनीहरूका अनुसार त्रिभुवन राजपथको एलाइन्मेन्ट परिवर्तन भइसकेको र वैकल्पिक सडकसमेत निर्माण भइसकेको अवस्थामा यसलाई शहरी मार्ग घोषणा गरी कम क्षतिमा सडक विस्तार गर्न सकिने सम्भावना थियो