प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण छिटोभन्दा छिटो गराएर संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले यस्तो माग गरेका हुन्।
उनले सोमबार प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकै समयमा प्रधानमन्त्री शाह उठेर बाहिरिएको घटनाले संसद् र देशको इज्जतमाथि दाग लागेको टिप्पणी गरे।
“प्रधानमन्त्रीले अहंकार र अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण हो। उहाँको व्यवहारले जनताको मन कुँडिएको छ। देशको शीर झुकेको छ,” आङ्देम्बेले भने, “यो सदनको गरिमा र इज्जतमाथि दाग लागेको अनुभूति हामीलाई भएको छ।”
उनले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्य कारणले प्रधानमन्त्री बाहिरिएको भन्दै दिएको स्पष्टीकरण पनि केही समयमै हटाइएको विषय उठाउँदै शंका व्यक्त गरे।
“यस्तो पनि हुनसक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ बाहिरिनुभएको हो। हामीलाई त्यस्तै जानकारी आएको थियो, पछि त्यो हटाइयो,” उनले भने।
आङ्देम्बेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे स्पष्टता आवश्यक रहेको भन्दै तत्काल परीक्षण गरी संसद्लाई जानकारी गराउन आग्रह गरे।
“प्रधानमन्त्री अब कुनै दलको मात्र होइन, सबैको सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामी सबैलाई छ,” उनले भने, “त्यसैले चाँडोभन्दा चाँडो स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइयोस्।”
यो भिडियो हेर्नुहोस् :