नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन्।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन्।
उनीनिकट स्रोतका अनुसार जिल्ला सभापतिहरूको भेला चैत १९ गतेका लागि तय गरिएको छ।
यसैबीच, पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा सक्रिय भएका खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि आह्वान गरेका छन्।
उक्त बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ र दुई दिनसम्म चल्ने बताइएको छ।
एक केन्द्रीय सदस्यका अनुसार बैठकमा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ।
गत पुस अन्त्यतिर सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्दव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन्।
उनीहरूमध्ये थापा, यादव र बानियाँ भने प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए।